निस्कनासाथ भने, ‘म निर्दोष थिएँ’
इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना भारतको जेलमा विनासुनुवाइ ४१ वर्ष बिताएर शनिबार थुनामुक्त भए। कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट दिउँसो करिब साढे १२ बजे रिहा भएपछि दुर्गाप्रसादले बोलेको पहिलो वाक्य थियो– म निर्दोष थिएँ।
२० वर्षको उमेरमा जेल परेका तिम्सिना ६१ का भए। उनी मानसिक रूपमा ९ वर्ष ९ महिनाको बालकजस्तै रहेको कोलकाता विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको परीक्षणले पत्ता लगाएको थियो। उनी मानसिक रूपमा मात्रै होइन, शारीरिक रूपमा समेत असाध्यै कमजोर देखिन्छन्।
सेता कमिज पाइजामा लगाएर उनलाई प्रहरी र आफन्तले समाएर बाहिर निकालेका थिए। उनी राम्ररी हिँड्न पनि सक्दैनन्। युवा उमेरमा जेल परेका दुर्गाप्रसाद ४१ वर्षपछि बाहिरी संसारमा आउँदा खुलेर बोल्न सकेनन्। चार दशकपछि थुनामुक्त भएका दुर्गाप्रसादलाई लागेछ– कतै जेल सार्न लागेको बुझेछन्। रिहाइ भएपछि गाडीमा फर्कँदै गर्दा उनले मलिन स्वरमा प्रश्न गरे– हामी दार्जिलिङ जान लागेको हो ? ‘प्रत्येक ६ महिनामा उनलाई दार्जिलिङ जिल्ला अदालतमा हाजिर गराउन लगिने गरेको रहेछ, त्यसै कारण उनले यो प्रश्न गरेको हुन सक्छ,’ तिम्सिनालाई लिन पुगेका उनका भाइ प्रकाशचन्द्र बताउँछन्।
दुर्गाप्रसाद राम्ररी बोल्न सक्दैनन्। केही प्रश्नको जवाफ दिन्छन्, तर मलिन स्वरमा। ४१ वर्षअघि युवा अवस्थामा जेल परेका दुर्गाप्रसादको न्यायको आवाज जसरी दबिए, उनको स्वर पनि उसै गरी दबिएको छ। रिहाइ हुनेबित्तिकै उनलाई सञ्चारकर्मीले घेरे। उनलाई सञ्चारकर्मीले अनेक प्रश्न गरे। तर, उनले बोल्नै सकेनन्। उनको मलिन आवाजमा जम्मा एउटा वाक्य निस्कियो– म निर्दोष थिएँ।