नागरिक लगानी कोषले पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी गर्नु आवश्यक 

पूर्वाधार र उत्पादनशील क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बताउनुभएको छ। 

नागरिक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको  बताए। उनले भने, ‘वित्तीय उत्तरदायित्व, पारदर्शीता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ होे। कोषले पूँजी बजारको विकास, गतिशीलता र बजारको स्थायित्वको विषयमा काम गर्नुपर्छ।’ 

कार्यक्रममा नागरिक लगानी कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कोषले सञ्चालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३  अर्ब  ३० करोड रुपैया लगानी गरेको जानकारी दिए।

डा.भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए। ‘यसका लागि कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका वचत योजना सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार हो।’ 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यकाबाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरिरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्य सञ्चालन गर्नेतर्फ कोषले काम सुरु गरिसकेको बताए। 

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी दिए। 

कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भइरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यावसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफ्नो कार्यलाई अगाडि बढाएको धारणा राखे। उनले भने, ‘नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने छ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६/७ प्रतिशत मात्रै पूँँजी बजारमा लगानी गरेको भन्दैे यो प्रतिशत १०/१२ प्रतिशत सम्म पुर्‍याउनुपर्नेमा जोड दिए।  स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औल्याए। कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे। 

उक्त अवसरमा कोषले संचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष,राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिएको थियो। 

यससँगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पुर्‍याउदै आएको छ। 

कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुद लगायतका कार्यक्रमका बिजयीलाई पुरस्कृत गरेको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका छन।

प्रकाशित मिति: : 2021-03-18 12:01:00

प्रतिकृया दिनुहोस्