नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल पक्षका नेता योगेश भट्टराईले यही चैत्र ४ गते हुन लागेको राष्ट्रिय भेलामा प्रधानमान्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी भएर उद्घाटन गर्न अनुरोध गरेका छन्।
राष्ट्रिय भेलाको विस्तृत जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनपछि बिएल नेपालीसँगको कुराकानीमा नेता भट्टराईले ओलीलाई भेलामा सहभागीताको लागि अनुरोध गरेका हुन्। नेता भट्टराईले भने–‘यो भेला एमालेको हो, एमालेको अध्यक्ष तपाई हो, त्यसकारण भेलाको उद्घाटनमा सहभागी हुन अनुरोध गर्छु।’
नेपाल पक्षले यही चैत ४ र ५ (भोलीदेखि) काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ। उक्त भेलामा पछिल्ला राजनीतिक घटनाक्रमको कारण सृजना भएको नयाँ परिस्थिति बारेको छलफल हुने बताईएको छ।
त्यस्तै, नेता भट्टराईले ओलीले पार्टीमा कारबाहीको कुरा निकाल्नुको कुनै अर्थ नभएको बताएका छन्। उनले फागुन २८ गतेको बैठक पार्टीको विधान अनुसार नभएको र आफै विधान विपरित गएर पार्टी विभाजनको दिशामा लैजान खोजेका ओलीलाई आरोप लगाए।
नेता भट्टराईले भने–‘हाम्रो तर्फबाट पार्टी विभाजन हुँदैन। हामी त पार्टीलाई ऐक्यबद्धता बनाउने प्रयासमा छौं।’