सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशको प्रथम परिषद् यही चैत ७ गते पर्यटकीयस्थल काहुँडाँडामा हुने भएको छ।
पोखरा महानगरपालिका–११ स्थित काहुँअन्तर्गतका १० वटा सामुदायिक वन समूह एवं विभिन्न सङ्घसंस्थाको आज सम्पन्न संयुक्त बैठकले काहुँको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वासका साथ प्रदेश परिषद् गर्ने निर्णय गरेको हो।
परिषद भव्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्न नारायणप्रसाद आचार्य संयोजक तथा सोमनाथ आचार्य, खेमराज आचार्य, हिराबहादुर केसी, नन्दलाल आचार्य र गिरधारी बराल सदस्य रहनुभएको भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ।
बैठकले मञ्च व्यवस्थापनमा सूर्यबहादुर कार्की, प्रचारप्रसारमा कुमारबहादुर क्षेत्री, खानेपानीतर्पm इन्द्रबहादुर खत्री, स्वागतमा अम्बिका आचार्यलाई संयोजक तोकेको छ।
प्रदेशअन्तर्गतका ११ जिल्लाबाट चैत ६ गते आउने पाहुनालाई साँझ एकै स्थानमा खानाको व्यवस्था गर्ने र एक आपसमा अनुभव साटासाट र आत्मियता अभिवृद्धिका लागि प्रत्येक उपभोक्ताले घरघरमा आवासको व्यवस्था गर्ने भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक आचार्यले जानकारी दिए।
'घरघरमा पाहुना राख्दा तारे होटलको सुविधा हुँदैन । परिषद्मा सहभागीलाई हाम्रो घरमा जे जस्तो व्यवस्था छ त्यसैले स्वागत गर्ने छौँ' उनले भने, 'आमन्त्रित पाहुनाले पनि त्यसलाई सहजरुपले लिनुहुने विश्वास छ।'
काहुँडाँडास्थित ढकमक्क फुलेको लालिगुँराससहित काहुँ धरहराबाट आँखाको नजिकै देख्न सकिने अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखलाको दृश्यावलोकनसँगै पर्यटकीय नगरी पोखराको रमणीय दृश्यले आगन्तुक पाहुनालाई स्वागत गर्ने प्रचारप्रसार समितिका संयोजक कुमारबहादुर क्षेत्रीले बताए।
बैठकमा सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य एवं प्रचारप्रसार संयोजक हरिप्रसाद बाँस्तोला, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, पोखरा ११ का वडा सदस्य मिनबहादुर गुरुङ, महासङ्घ कास्की कोषाध्यक्ष अम्बिका आचार्य र सो क्षेत्रका १० वटै सामुदायिक वन समूहका पदाधिकारीको सहभागिता रहेको थियो।
परिषद्मा प्रदेशका ११ जिल्लाअन्तर्गत ८० स्थानीय महासङ्घ, केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला महासङ्घका गरी कूल २५० को सहभागिता रहने महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिए। रासस