नयाँ सरकारका लागि ‘म्याराथन’ संवाद : जसपामा मतभेद, समीकरणमा उल्झन

हामीलाई कुनै दलीय गठबन्धनमा सुरक्षा छैन : महन्थ ठाकुर  

उहाँहरू (एमाले, कांग्रेस र माओवादी केन्द्र)ले जे गर्नुहुन्छ, त्यही नै हुन्छ । तीनदलीय गठबन्धनमा हामी कहाँ छौँ भन्ने निर्णायक होइन । आन्दोलनमा थियौँ, तर परिणाम हाम्रो पक्षमा छैन । हाम्रो मागलाई कुनै पनि सरकारले प्राथमिकतामा राखेनन् । सरकारसँग पनि हाम्रो वार्ता भइरहेको छ, तर कुनै टुंगोमा पुगेको छैन । हामीलाई कुनै दलीय गठबन्धनमा सुरक्षा छैन । 

जसपाका माग सम्बोधनमा कुनै समस्या छैन : प्रचण्ड

जसपाका मागमा हामी सुरुदेखि नै इमानदार छौँ । संविधान जारी गर्दा पनि फरक मत राखेकै हो । रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ भन्नेमा सुरुदेखि नै स्पष्ट छौँ र बोल्दै पनि आएका छौँ ।  संविधान संशोधनका लागि दुईपटक प्रस्ताव पनि अगाडि बढाएको हो । ओलीले नै रोकेका हुन् । जसपाका माग सम्बोधनमा कुनै समस्या छैन । 

तीन माग, तीन वार्ता

माग

१. बिहीबार जसपा नेताहरूसँग तीन घन्टा लामो छलफल गरेका प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताएका थिए । जसपा नेताहरूले पनि छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । तर, त्यसपछि ओली र जसपाका तर्फबाट बनाइएको कार्यदलस्तरीय वार्ता भने भएको छैन । 

२. शुक्रबार कांग्रेससँग वार्ता गरेका जसपा नेताहरूले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएका थिए । जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता दिने सहमति भएको कांग्रेस र जसपाका नेताहरूले बताएका थिए । 

३. शनिबार जसपाका र माओवादी केन्द्रबीच सत्तासमीकरणलाई लिएर भएको संवाद सकारात्मक रहेको दुवै पक्षका नेताहरूको दाबी छ । तर, जसपाले वचन नदिएकै कारण कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहकार्यको धरातल अझै बनेको छैन । द्विपक्षीय र त्रिपक्षीय संवाद गर्दै जाने उनीहरूबीच सहमति छ । 

वार्ता

१. सत्ता गठबन्धन गर्न जसपाले चौधरीको रिहाइलाई मुख्य सर्त बनाएको छ । यही मुद्दा लिएर उसले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस–माओवादीसँग संवाद गरेको छ । जसपा नेताहरूले चौधरीको रिहाइको सुनिश्चितता खोजेका छन् । 

२. रेशम चौधरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको मुद्दा फिर्ता र उनीहरूको रिहाइलाई जसपाले भावी सत्तासमीकरणको सर्त बनाएको छ । जसपाले पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको मधेस आन्दोलनबारेको प्रतिवेदन सार्वजनिकलाई पनि सर्त बनाएको छ । 

३. जसपाले संविधान संशोधनलाई अर्को मुख्य मुद्दा बनाएको छ । समीकरणका लागि जसपाले संविधान संशोधनको विधेयक दर्ताको पनि सर्त राखेको छ । सर्वोच्चले एमाले र माओवादी केन्द्रको एकता भंग गरेपछि संसद्को अंकगणित बदलिएको छ । जसपाले जतासुकै सहकार्य गरे पनि दुईतिहाइ पु¥याउन भने कठिन छ । 

सरकारको नेतृत्वबारे देउवाले भने–परिस्थिति आयो भने जिम्मेवारीबाट भाग्दैनौँ 

कांग्रेस सभापति शेरबहादुर देउवाले भावी सत्तासमीकरणको नेतृत्वका लागि कांग्रेस तयार रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको र परिस्थिति आइपरे जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । उनले भने, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । परिस्थिति आयो भने जिम्मेवारीबाट भाग्ने पनि छैनौँ ।’ शुक्रबार देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने विषयमा पार्टीभित्र सहमति भएका अर्को दिन देउवाले सरकारको नेतृत्वको विषयमा धारणा राखेका हुन् । 

प्रकाशित मिति: : 2021-03-14 08:10:00

प्रतिकृया दिनुहोस्