‘राजनीतिज्ञहरू धनाढ्य हुन खोजिरहेका छन्, धनाढ्यहरू भने राजनीतिज्ञ बन्ने धुनमा छन् । यस्तो किन ?,’ नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई यो प्रश्न गर्दा ‘फाइनप्रिन्ट फिभर’का दर्शकले ताली पिटे । दशकौँ लामो व्यावसायिक यात्रापछि राजनीतिक यात्रा थालेका चौधरीले उत्तर दिए, ‘यो देशमा कुनै पनि दीर्घकालीन नीतिगत परिवर्तन ल्याउनु छ भने त्यो राजनीतिबाट मात्रै सम्भव छ । विषयगत संगठनहरूबाट यो सम्भवै छैन । म यो देशका मूलभूत समस्या समाधान गर्न राजनीतिमा आएको हुँ ।’
यसो भन्दै गर्दा उनले आफ्नो विगत सम्झिए ,‘सरकारी विद्यालयमा पढेर पनि ठूला सपना देख्न सकेँ । मुलुककै ठूलो सम्मानजनक व्यावसायिक घराना बनाउने सपना देखेँ । कालान्तरमा त्यो सम्भव पनि भयो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेतृत्व पनि गरेँ । तर, त्यत्तिले मात्रै नीतिगत परिवर्तन ल्याउन सकिएन ।’
आफैँले बनाएको ‘सिजी उन्नति कल्चरल भिलेज’को प्रांगणमा आयोजित घुम्ती साहित्य महोत्सवको ‘अर्थनीति र राजनीति’ सत्रमा चौधरी सम्पादक चौहानसँग संवादमा थिए । त्यसक्रममा उनले बारम्बार व्यवस्थित स्रोत परिचालनमा जोड दिए । मुलुक स्रोत–साधनमा सम्पन्न भए पनि तिनको व्यवस्थापन नहुँदा अहिलेसम्म गरिब नै रहेको उनको भनाइ थियो ।
‘तपाईं विदेशमा लगानी गर्न जुन विमानमा गइरहनुभएको हुन्छ, त्यही विमानमा अरबमा काम गर्न जाने नेपाली पनि उत्तिकै हुन्छन् । कस्तो विरोधाभास है ?’ चौहानको यो प्रश्नमा चौधरी केहीबेर घोत्लिएर भने, ‘नेस्ले कम्पनीले नेपालमा उत्पादन गर्न हुने अनि मैले विश्वभर वाइवाई पुर्याउन नहुने ? नेपालमा ठूलाठूला व्यवसायले शाखा खोल्न हुने अनि मैले दुबईको ताजमा नेपाली झन्डा फहराउन नहुने ?’