दैनिक डेढ अर्ब कारोबार गर्दै ई-सेवाले कोरेको डिजिटल भुक्तानीको गोरेटो

नेपाल खबर

काठमाडौं

झन्डै डेढ दशकअघि आफ्नै डोमेन दर्ता गर्ने लहर थियो। सबै आफ्नो वेबसाइट बनाउन चाहन्थे।

त्यसबेला कलेज पढ्दै थिए विश्वास ढकाल। आईटीका विद्यार्थी ढकाललाई लाग्यो– डोमेन दर्ता र होस्टिङको काम गर्ने हो भने कलेजको शुल्क तिर्ने पैसा कमाउन सकिन्थ्यो।

करिब १४ हजार लगानी गरेर उनले सन् २००४ तिर डोमेन होस्ट गर्ने एफवान सफ्ट कम्पनी दर्ता गरे।

झन्डै डेढ वर्षमा ४ हजार डोमेन दर्ता गरे। केही पैसा कमाए। त्यसपछि एकै पटक ४ वटा कम्प्युटर किने र ४ जनालाई जागिर दिए।

त्यसरी सुरु भएको एफवान सफ्ट आज मुलुककै सबैभन्दा ठूलो फिनटेक कम्पनी बनेको छ। एफवान सफ्टका एक दर्जनभन्दा धेरै कम्पनी भए पनि ई-सेवा सबैभन्दा चर्चित छ।

२००६ मा ई-सेवाको अवधारणा ल्याउँदा ‘यी केटाहरुले डिजिटल पेमेन्ट गर्ने’ भन्ने व्यंग्य उनले सुन्नुपथ्र्यो। एफवान सफ्ट १८ औँ वर्षमा आइपुग्दा ढकाललाई ई-सेवाले नै सबैमाझ चिनाएको छ।

नेपाल टेलिकमको रिचार्ज कार्डलाई ई-सेवामा राखेर बेच्न सुरु भएको यो सेवाले डेढ दशकको अवधिमा मुलुकभरकै विद्युतीय भुक्तानी सेवालाई एउटा उचाइमा पुर्‍याएको छ।

ई-सेवामा दर्ता भएका ग्राहक ४० लाख पुग्दा सक्रिय ग्राहक संख्या २० लाखभन्दा बढी छन्। १ लाख एजेन्टहरुले मुलुकभर डिजिटल भुक्तानीको सेवा दिइरहेका छन्।

ई-सेवाको माध्यमबाट दैनिक डेढ अर्ब रुपैयाँको कारोबार भइरहेको छ। काठमाडौँबाहेक बुटवल, विराटनगर, पोखरा, कोहलपुर, धनगढीमा समेत शाखा रहेको ई-सेवाले झन्डै ४५० जनालाई रोजगारी दिएको छ।

ई-सेवाले आफ्नो मात्र व्यवसाय विस्तार गरेन, मुलुककै डिजिटल भुक्तानीलाई पनि बाटो देखायो। जसलाई पछ्याउँदै दर्जनौँ विद्युतीय भुक्तानी कम्पनी खुलेका छन्। तरकारी बजारदेखि चिया पसलसम्म क्यूआर कोडको प्रयोग हुन थालेको छ।

कुल भुक्तानीको झन्डै ५ प्रतिशत डिजिटल बनेको छ। थप ५० प्रतिशत भुक्तानी डिजिटल माध्यममा आउन तयार छ।

प्रकाशित मिति: : 2021-03-11 19:24:00

प्रतिकृया दिनुहोस्