'बर्मेली मिडिया हाउस'मा सैन्य सरकारको छापा

Myanmar Now
Myanmar Now

म्यान्मार सैन्य सरकारले 'म्यान्मार नाउ'को कार्यालयमा छापा मारेको छ। रंगुन शहरस्थित म्यान्माली सञ्चारमाध्यम 'म्यान्मार नाउ'मा सोमबार दिउँसो सेनाले छापा मारेको हो।

नाउको कार्यालयबाट सेनाले कम्प्युटर, प्रिन्टर र समाचार कक्षको 'डाटा सर्भर' कब्जा गरेको मिडियाका सम्पादकले बताएका छन्। पछिल्लो समय जुन्ता सरकारले स्वतन्त्र मिडियाहरूमा कडा निगरानी गरिरहेको छ। 

म्यान्मारमा सैन्य 'कू'विरूद्ध दिनहुँ आन्दोलन जारी छ। प्रजातन्त्रमाथि 'कू' गरेको जुन्ता सरकार स्वतन्त्र मिडियामाथि पनि डर–त्रास देखाउने खेलोमा लागेको आन्दोलनका 'समाचार कभर' गरिरहेका पत्रकारहरू बताउँछन्। 

सेनाले दैनिकजसो समाचार कक्षमा ताकेता गरेपछि 'म्यान्मार नाउ'ले कार्यालय बन्द गरेको थियो। बन्द कार्यालयमा सोमबार सेनाको एक समूह मोटरसाइकलमा आएर मिडिया सामाग्री कब्जामा लिएका हुन्। उनीहरूले ताल्चा लगाएको ढोकामा समेत तोडफोड गरेका छन्। 

'म्यानमार नाउ'मा कार्यरत पत्रकार की जोन न्वे गतमहिना रंगुनबाट पक्राउ परेका थिए। उनी सडक प्रदर्शनको समाचार तयार पार्ने क्रममा पक्राउ परेका हुन्। उनलाई रंगुनस्थित एक हिरासतमा राखिएको छ। म्यानमार नाउ सैन्य 'कू'पछि छापा मारिएको पहिलो बर्मेली संञ्चारमाध्यम हो।

म्यानमार नाउका प्रधान सम्पादक सुयू विनले जनताको पक्षमा लेख्दा डराउनु पर्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले, 'भने सेनाको कदम राम्रो छैन। स्वतन्त्रता हनन भएको छ। नागरिक आन्दोलनको आवाज दबाउने कार्य बन्द नगरेसम्म हामीहरू सम्पादकीय लेखिरहन्छौं।'



पहिलो बर्मेली–नेपाली शहीद 'सानाभाइ'को दाहसंस्कार

बर्माको जनआन्दोलनका पहिलो नेपाली मूलका शहीद सानाभाइ विश्वकर्माको दाहसंस्कार गरिएको छ। गृहनगर उत्तरी बर्माको सुन्सेमा हिन्दू परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो। दाहसंस्कार स्थानीय गोर्खाली समाजको अगुवाइमा गरिएको थियो।

४३ वर्षीय सानोभाइ विश्वकर्मा सुनको गहना बनाउने काम गर्दै आएका थिए। उनका श्रीमती र पाँच छोरा रहेका छन्। उनको जन्म मुसेनजिकै अवस्थित नाम्टु गाउँमा भएको थियो। नेपालीभाषीको बाक्लो बस्ती भएको नाम्टुमा  १०० वर्षदेखि नै फलामको काम गर्न नेपालीहरू आउन थालेका थिए। त्यही क्रममा विश्वकर्माको पु्र्खा पनि त्यहाँ आएका थिए। 

सरकारी पक्षले उनको शव आइतबार परिवारलाई बुझाइएको थियो। उनको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको अनुमान गरिएको छ। 

विश्वकर्माको शवसँगै सुरक्षाकर्मीले उनको न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी)को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको बताइएको छ। एनएलडी आङ सान सू चीको ठूलो राजनीतिक दल हो। दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत प्राप्त गरेको थियो। 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै म्यानमारको सेनाले सैनिक शासक लगाएको छ। त्यही शासनका विरूद्ध म्यान्मारमा आन्दोलन जारी छ।

आन्दोलनमा नेपालीभाषी पनि अग्रमोर्चामा रहेका छन्। म्यान्मारमा एक लाख २५ हजारको हाराहारीमा नेपाली मूलका मानिस रहेको बताइन्छ।



बर्माको स्वतन्त्रता आन्दोलनमा 'सानाभाइ' पहिलो बर्मेली–नेपाली सहिद (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-03-09 09:58:00

प्रतिकृया दिनुहोस्