सुनिलस्मृति गाउँपालिका वडा नम्बर–४ सुलिचौरले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
‘शिक्षामा ४ नम्बर वडाको कदर, विद्यालयमा भर्ना हुने विद्यार्थीको लहर’ भन्ने मुलनाराका साथ वडा भित्र सञ्चालित ४ सामुदायिक विद्यालयका कक्षा १ का एक सय ५४ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ जोर विद्यालय पोशाक, १ झोला, १/१ दर्जन शिशिा कलम/कापी वितरण गरिएको हो।
विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायतको सहभागितामा शैक्षिक सामग्री वितरण गरिएको वडा नम्बर ४ ले बताएको छ।
सूर्योदय माध्यमिक विद्यालय सुलिचौर, जनता आधारभुत निम्न माध्यमिक विद्यालय कोईरालखर्क, सरस्वती प्राथमिक विद्यालय बाग्मा र बराहक्षेत्र प्राथमिक विद्यालय धनचौर गरी वडाभित्र ४ वटा सामुदायिक विद्यालय रहेका छन्।
गरिबीका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन् नपरोस् भन्ने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको सुनिलस्मृति–४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले बताए।
धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएपछि बालबालिकाहरुलाई शिक्षाको पहुँमा ल्याउनको लागि वडा कार्यालयले शैक्षिक सामग्री वितरण गरेको उनको भनाई छ।
साथै वडाले सबै विद्यालयमा स्वास्थ्य खानेपानी उपलब्ध गराउने उदेश्यले पनि शुद्धिकरण गर्ने उपकरण, खेलकुदका सामग्री पनि वितरण गरिएको उनले बताए।