युवा तथा खेलकुदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए।
“मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उनले भने, “काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु।”
त्यसका लागि काम गर्ने वातावारण बनाउनका लागि सबै तयार हुन आवश्यक रहेकामा उनले जोड दिए। कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला–जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गरे।रासस