एकै ठाउँमा आएर स्थिरताका पक्षमा जानुपर्छ : मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हरिबहादुर चुमानले समाजवादीउन्मुख कम्युनिष्टको आन्दोलनलाई सार्थकता दिन गल्ती स्वीकार गरी सबै एकै ठाउँमा आएर स्थिरताका पक्षमा जानुपर्ने बताएका छन्। 

तनहुँको दमौलीमा आज नेकपा दाहाल नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोद्धन गर्दै उहाँले भएका कमीकमजोरीलाई सच्याएर कम्युनिष्ट एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। 

'विघटनको बाटो रोज्ने, गल्ती गर्न उक्सानेले पनि गल्ती भयो भने स्वीकार्न तयार हुनुपर्छ। यसो भएको खण्डमा बल्ल हामी ठीक ठाउँमा आउँछौँ' उनले भने, 'गल्ती कमजोरी सच्याउने हिम्मतका साथ अघि बढ्ने नै कम्युनिष्ट हुन्छन्, क्रान्तिकारी हुन्छन् । पार्टी गलत बाटोमा गयौँ भनेर जनतासँग माफी माग्न पछि हट्नु हुँदैन।' 

नेकपाका केन्द्रीय सदस्य पिएल श्रेष्ठ र आशा कोइरालाले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले देश र जनतालाई दलदलमा फस्नबाट जोगाएको बताए। 

जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सदस्य रेखा बत्स्याल, चित्रबहादुर थापा, शङ्करनारायण श्रेष्ठ, अतेन्द्रकेशरी न्यौपाने र नेकपा व्यास नगरपालिकाका अध्यक्ष श्रीराम कार्कीलगायतले सर्वोच्च अदालतबाट संसद् विघटन बदर हुँदा आमजनताको जीत भएको बताए। रासस 

प्रकाशित मिति: : 2021-02-24 21:44:00

प्रतिकृया दिनुहोस्