शैक्षिक नवप्रवर्तनका लागि प्रदान गरिने युनेस्को वेन्हुई अन्तरराष्ट्रिय पुरस्कार २०२० का लागि नेपालको रिसोर्सेस हिमालय फाउन्डेशनले प्राप्त गरेको छ।
एशिया–प्रशान्त क्षेत्रमा शैक्षिक नवप्रवर्तनमा उत्कृष्ट योगदान गरेबापत दिइने सो पुरस्कार फाउन्डेशनले अघि सारेको ‘विज्ञान बढाऔं कोरोना भगाऔं’ परियोजनाका निम्ति प्रदान गरिएको हो।
युनेस्कोको लागि चीनको राष्ट्रिय आयोग र विकासको लागि शैक्षिक नवप्रवर्तन युनेस्को एशिया–प्रशान्त कार्यक्रमको सहकार्यमा सन् २०१० मा स्थापित यस पुरस्कारको राशि २० हजार अमेरिकी डलर रहेको छ।
फाउन्डेशनले कोभिड–१९ को महामारीसँग जुध्न नेपालमा बन्दाबन्दी घोषणा भएलगत्तै गत २०२० अप्रिल २ बाट युवा वैज्ञानिक नेपाल नामक सञ्जाल निर्माण गरी वैज्ञानिक चेतना विस्तार, शैक्षिक सामग्री निर्माण तथा प्रचारप्रसार अभियान, गोष्ठी तथा राष्ट्रिय सम्मेलन, तालीम आदि कार्यक्रमहरुको आयोजना गरेको थियो।
युवा वैज्ञानिक नेपालको सञ्जालमा देशका सात प्रदेश र त्यसअन्तर्गत ६५ जिल्लाको प्रतिनिधित्व रहेको छ। पुरस्कारको राशिबाट युवा सञ्जाललाई थप सशक्त बनाउँदै वैज्ञानिक अनुसन्धान र विज्ञान प्रवद्र्धनमा उपयोग गरिने फाउण्डेशनका सचिव डा दिनेश भुजूले जानकारी दिए।
स्वर्गीय डा प्रहद योन्जनले स्थापना गर्नुभएको यस फाउन्डेशन तीन दशकदेखि हिमालय क्षेत्रको वातावरण, जैविक विविधता र जनजीविकाको वैज्ञानिक अध्ययन अनुसन्धानमा क्रियाशील रहँदै आएको छ। रासस