नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा एक थान वधाइ तथा शुभकामना जारी भएको छ। त्यसको पेटबोलीमा ‘.......विदेशमा बस्ने नेपालीलाई पनि बधाइ तथा शुभकामना’ भनिएको छ। यो अकिञ्चन नेपाली त्यही कोटीमा पर्छ। त्यसैले त्यो बधाइ तथा शुभकामनाको एक पित्को उसको भागमा पनि परेको हुनुपर्छ भन्ने ठान्छ। तर, उसलाई त्यो ओठे वधाइ र शुभकामना चाहिएको छैन। त्यसैले होस हवासका साथ लेखिरहेको छ, ‘भो चाहिएन तिम्रो वधाई र शुभकामना’
किन ?
मुलुक यतिबेला प्रतिगमनको शिकार भएको छ। मुलुकबासीको प्रजातन्त्र कोमामा गएको छ। उनैले खड्गप्रसादले गरेको संसद विघटनको सिफारिसको मसी पनि नसुक्दै सार्वभौम नेपाली जनताको संसद विघटन गरिदिएर मुलुक र मुलुकबासीको यो बेहाल बनाइ दिएकी हुन्।
प्रजातन्त्रमा जननिर्वाचित संसदले नै जनताको प्रतिनिधित्व गरिरहेको हुन्छ। यही संस्था उनीहरूको आशा र भरोसाको केन्द्रविन्दु हुन्छ। तर, सन्की खड्गप्रसादले तानाशाह बन्ने आफ्नो मार्गमा संसदले सम्भावित बाधा तेर्स्याउने देखेपछि त्यही संस्था नै भंग गर्ने सिफारिस गरिदिए। त्यो सिफारिस शितल निबास नुग्दै विद्यादेवीले सदर गरेर मुलुकमा ओलीतन्त्र लागु गरिदिइन्।
अहिले मुलुकमा प्रजातन्त्रको घाँटी निमोठिएर खड्ग-विद्याको चोचोमोचोमा ओलीतन्त्र चलिरहेको छ। ओलीतन्त्रमा प्रजातन्त्रका मूल्य र मान्यतालाई धुलिसात बनाउन के भएको छ भन्दा पनि के भएको छैन भन्ने एन्टी थेसिसको अवस्था छ।
प्रजातन्त्रलाई कोमामा पुर्याइएको यो अवस्थामा कसरी र कसले प्रजातन्त्रको खुशी मनाउन सक्छ र? अनि जसले प्रजातन्त्रको घाँटी निमोठेको छ, उसलै प्रजातन्त्रका नाममा दिएको अर्ती कसरी सैह्य हुन सक्छ र? अनि आलो घाउमा नुन चुक छर्किने जस्तो गरी दिएको उसैको वधाइ तथा शुभकामना कसरी लिन सकिन्छ र ?
एकपटक विद्यादेवीको त्यो वधाइ तथा शुभकामना हेरौं,
..............
‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दछु ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ । प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन आएको छ ।
अन्तमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।‘
...............
यो सन्देशमा जारी गरिएको अर्ती, उपदेशमा असहमत हुनुपर्ने ठाउँ र कारण छैन। तर, प्रजातन्त्रका नाममा यति सुन्दर अर्ती र उपदेश दिने राष्ट्रपतिको व्यवहार पनि त्यही अनुरूपको छ त ? नेपालको संविधानले तोकेअनुसारको जिम्मेवारी र भूमिका निर्वाह भैरहेको छ त ?
पक्कै पनि छैन, नेकपा नेतृ रामकुमारी झाँक्रीका शव्दमा उनी ‘खड्गप्रसादकी प्यादा’ हुन्। उनको काम भनेको खड्गप्रसादको आदेश तामेली गर्नु मात्र हो। झाँक्रीले राष्ट्रपति पदप्रति सम्मान रहे पनि त्यस पदमा रहेकी विद्यादेवीले पदको गरिमा राख्न नसकेकीले व्यक्तिका रूपमा उनको आलोचना गर्न पाइने र गर्ने बताएकी छिन्।
झाँक्रीको यो भनाइमा असहमत हुनुपर्ने कारण छैन। किनकि, कुनै पनि व्यक्तिले आफ्नो पदअनुसारको भूमिका निर्वाह गरेर त्यो पदको गरिमा राख्न सक्नुपर्छ। अनि मात्र त्यो पदसँगै व्यक्ति पनि सम्मानित हुन्छ।
तर, दुर्भाग्य विद्यादेवीका हकमा त्यसो हुन सकेको छैन। उनले आफ्नै काम कारबाहीका कारण झाँक्रीहरूलाई बोल्ने ठाउँ दिएकी छिन्। पुस ५ र त्यसअघि मात्र हैन, त्यसपछि पनि उनले खड्गप्रसादको हुकुम तामेली गर्ने काम मात्र गरेकी छिन्। गलत किसिमले नियुक्त भएका संवैधानिक अंगका प्रमुखको सपथ ग्रहण गराउनेदेखि लिएर प्रदेश प्रमुखको बर्खास्तगीदेखि नियुक्तसम्मका घटनाक्रमलाई हेर्दा त्यही कुराको पुष्टी हुन्छ।
नेपाललाई प्रतिगमनको शिकार बनाएर प्रजातन्त्र कोमामा पठाउने प्रपञ्चकी मतियार हुन् विद्यादेवी। अहिले उनै 'देवी'ले राष्ट्रिय प्रजातन्त्र दिवशको उपलक्ष्यमा प्रजातन्त्रको अर्ती उपदेशसहितको एक थान बधाइ तथा शुभकामना पठाएकी छिन्। आलो घाउमा नुन चुक छर्किने जस्तो गरी दिएको उनको त्यो वधाइ तथा शुभकामना कसरी लिन सकिएला र ?
के नेपाली जनता यस्तै राष्ट्रप्रमुखका हकदार हुन् ? निश्चित पनि हैनन् । नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र ल्याउन हजारौ नेपालीले शहादत गरेका छन् र उनीहरूको शहादतबाट प्राप्त यो व्यवस्थामा यस्ता पात्रहरू सुहाउँदैनन्। तर, विडम्बना यही व्यवस्थाको भर्याङ चढेर यस्ता पात्र र प्रवृतिहरू शितलनिबास पुगेका छन्।
कांग्रेस नेता गगन थापाले विश्वासका साथ भनेका छन्, ‘संसद पुनस्थार्पना हुनेछ। त्यसपछि यो असंवैधानिक कदम चाल्ने र त्यसका मतियारहरूलाई उचित सजाय गरिने छ।‘ यसको संकेत राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउने भन्ने पनि होला। आशा गरौं, पुस ५ को प्रतिगमन सच्चिनेछ र त्यसका लागि जिम्मेवार हरेक प्रतिगामी कित्ताका खलपात्र त्यो राष्ट्रिय अपराधका लागि सजायका भागीदार बन्नेछन्।
यो पंक्तिकार विदेशमा रहेको एक नेपाली हो। हामी विदेशमा बसेका नेपालीको चाहना भनेको नेपालमा लोकतन्त्र संस्थागत होस्, मुलुकले प्रगति र मुलुकबासीले समृद्धि हासिल गरून्, मुलुक अग्रगामी बाटोमा जाओस् र हाम्रो देश २१औं शताव्दिका हरेक सभ्य मानकका साथ अगाडि बढिरहेको छ भन्न पाइयोस् भन्ने मात्र हो ।
तर, दर्भाग्य घरदेशमा पुस ५ गते लादिएको प्रतिगमनका कारण फेरि एकपटक हामी परदेशमा लज्जित हुनुपरेको छ। र, यो लज्जाबोध गराउने निर्णायक पात्र अरू कोही नभएर विद्यादेवी नै हुन् ।जब प्रजातन्त्रलाई कोमामा पठाउने यिनै विद्यादेवी फागुन ७ गते प्रजातन्त्र दिवशको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई वधाइ तथा शुभकामना दिन्छिन्; लाग्छ यो आफैं आलो घाउ दिएर त्यसमाथि नुन चुक दल्ने प्रपञ्च हो। त्यसैले मनैदेखि भन्न मन लागेको हो, ‘मुखमा रामराम बगलीमा छुरा... भो चाहिएन तिम्रो वधाई तथा शुभकामना ।'