महासङ्घको बैंक तथा वित्तीय समिति विस्तार

Bizmandu

नेपाल उद्योग वाणिज्य महासङ्घले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ। 

समितिका सहसभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता छन्। 

कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी छन्। 

त्यसैगरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासङ्घको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन्। 

समिति विस्तार कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति महासङ्घको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए।

उनले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने छ भने। अध्यक्ष गोल्छाले महासङ्घले छिट्टै नै बैंकिङ, कर राजश्व, श्रमलगायतका समस्यालाई सम्वोधन गर्न महासङ्घभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच विगतमा तनावको अवस्था आउने गरेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए। महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई अध्ययन गरी समितिले सुझाव तयार गनु पर्ने धारणा राखे। रासस 

प्रकाशित मिति: : 2021-02-09 21:53:00

प्रतिकृया दिनुहोस्