पशुपति विकास कोषले गोठाटारमा हिन्दु विश्वविद्यालय सञ्चालन गर्ने

थाहा खबर

काठमाडाैं

काठमाडौं : काठमाडाैंको कागेश्वरी मनोहरास्थित गोठाटार मा पशुपति क्षेत्र विकास कोषले विश्व हिन्दु विश्वविद्यालय निर्माण गर्ने भएको छ। विकास कोषको ५ सय ३४ रोपनीमध्ये १ सय ५० रोपनी जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने लागेको हो।

विश्वविद्यालयमा संस्कृत भाषा,संस्कृत वाङ्मय,पूर्वीय दर्शन, शास्त्रीय संगीत र नेपाली धर्म संस्कृतिबारे अध्ययन गराइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।

सचिव डा.ढकालले भने, 'यहीँ वर्ष विश्वविद्यालयको शिलान्यास हुन्छ। विश्वविद्यालयको डिपिआर तयार भइसकेर अन्तिम चरणमा पुगेको छ।' सम्पूर्ण डकुमेन्ट तयार भएपछि यसको कति लागत लाग्ने त्यसको फाइनल गर्ने उनले जानकारी दिए।

बाँकी ३ सय ८४ रोपनी जग्गामा पशुपति अस्पताल, पशुपति वृद्धाश्रम,पशुपति गौशाला र पशुपति उद्यान सञ्चालन गर्ने भएको हो।

पशुपतिमा चढाएको भेटीको १० प्रतिशत समाज कल्याणको काममा लगाउने तयारी कोषले गरिरहेको छ। पशुपति अस्पतालमा आएका सबैलाई निशुल्क उपचार गरिने उनले जानकारी दिए। उनले भने,'  अस्पतालमा संसारभरबाट आएका जुनसुकै मानिसलाई निशुल्क उपचार गरिन्छ। भक्तजनले चढाएको भेटीबाट अस्पताल निर्माण भएकोले शुल्क लिँदैनौ।'    

विगत लामो समयदेखि विकास कोषका गौशाला सञ्चालन भइरहेको छ। उपत्यकाको विभिन्न ठाउँबाट गाईलाई नियन्त्रणमा लिएर गोठाटारको गौशालामा लगेर राखिएको उनले जानकारी दिए। 'विकास कोषको जग्गामा अझ धेरै गाईपालन गर्ने योजना स्वरुप गौशाला सञ्चालन गर्न लागेका हौ,' ढकाल भन्छन्।

पशुपति परिसरमा समाज कल्याणले परिषदले वृद्धाश्रम सञ्चालन गरिरहेको छ। परिसरभित्र ज्येष्ठ नागरिकलाई राख्दा धार्मिक रुपमा सेवा गरेको जस्तो भए पनि  अब विकास कोषले आफै वृद्धाश्रम निर्माण गरी ज्येष्ठ नागरिकको सेवामा जुट्ने उनको भनाइ छ। विकास कोषको जग्गामा पशुपति उद्यान निर्माण गर्न लागेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-02 19:18:00

प्रतिकृया दिनुहोस्