चार वर्षअघि युरोपेली देश इटलीबाट ल्याइएका फुजी स्याउ जुम्लामा राम्ररी फलेको छ। उक्त जातको स्याउ स्थानीय जातको स्याउभन्दा राम्रो उत्पादन दिने गरी फल्न थालेको हो।
चार वर्षअघि जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती सुरु गरेका थिए। हाल आएर आयातित स्याउ खेती आम्दानीको गतिलो स्रोत बनेको छ।
हाम्रो कृषि सहकारी संस्थाका सरोज शाहीले दिएको जानकारीअनुसार, सुरुमा फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएका थिए। जुम्ली एग्रो फर्मकी व्यवस्थापक रेश्मा श्रेष्ठले इटालियन फुजी स्याउ प्रतिबिरुवा १३ सय रुपैयाँ खर्च गरेर तीन हजार पाँच सय फुजी स्याउका बिरुवा लगाइएको जानकारी दिइन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपर जोन स्याउ जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार जुम्लामा इटालियन फुजी जातको स्याउखेती सुरु भएको चार-पाँच वर्षमा सफल भएपछि स्थानीय कृषक उक्त जातको स्याउप्रति आकर्षित भएका छन्।
यस वर्ष मात्रै जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको छ। त्यस्तै, तातोपानी गाउँपालिको हियाखोला गाउँमा १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा ४ हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी छ।
गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीका अनुसार झन्डै १३ करोड लगानीमा फुजी जातको स्याउखेती गर्ने योजना छ।
'स्थानीय ९५ जनाको जग्गा २० वर्षका लागि लिजमा लिएर फुजी स्याउखेती गर्न थालिको हो,' उनले भने, 'स्याउखेतीका लागि भिरालो जमीनभन्दा समथर फाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमिन सम्म बनाएको छ।'
घेरबारको काम ८० प्रतिशत सम्पन्न भएको छ। फागुन-चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी गरिएको उनले बताए। 'फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि स्थानीय युवालाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको हो।'
स्याउ खेतीमा कृषि कार्यालय र सुपर जोनले बिरुवा र साना सिचाइ घेरबारमा केही अनुदान पनि दिन तयारी गरिएको भण्डारीले बताए।
****
'हाल फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सयले बिक्री गर्ने गरी जिल्ला दर कायम गरिएको छ,' उनले भने, 'कृषकलाई प्रतिबिरुवामा ५० प्रतिशतसम्म अनुदान दिइएको छ।'
हाल फुजी स्याउ अत्यधिक रुचाइएको भए पनि विगत पाँच दशकयता जुम्ला जिल्ला स्याउको नामबाट परिचित भइरहेको छ। कुनै बेला 'गाउँ आयो गु आया' भनेर नकारात्मक बिम्ब प्रयोग गरिने भएपनि आजभोलि 'गाउँ आयो, स्याउ आयो' नारा घन्किरहेछ। यहाँका बुढापाकाका अनुसार २०२४ साल आसपासतिर जुम्लामा स्याउका बिरुवाहरू भित्रिएका हुन्।
त्यसबेला स्थानीय किसानले भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि स्याउखेती सुरु भएको हो।
२०३२ सालमा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि कार्तिकस्वामी गाउँ पञ्चायतको गैरागाउँमा स्याउको बागवानी केन्द्र स्थापना भएको थियो। बागवानी केन्द्रले विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्न थालेको थियो।
तर, महतगाउँका कृषक स्वर्गीय पदमबहादुर महतको पुरानो स्याउ बगैँचा थियो। उनी आफैँले बेला–बेलामा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर लगाएको बताउँदै आएका थिए। भूमिसुधार अधिकृत हुँदा उनले स्याउ उत्पादनले गर्न सके जुम्लाको भविष्य राम्रो हुने भन्दै सरकारी जागिर छाडेर नाङ्गोडाँडामा स्याउको नमुना फारम बनाएका थिए। जुन स्याउ एसियाकै चौथो ठूलो सूचीकृत स्याउ फर्म हो।
उनको बगैँचामा तत्कालीन राजा वीरेन्द्रदेखि देशका उच्च सरकारी उच्च ओहदामा रहेका व्यक्तिले भ्रमणसमेत गर्नेगरेका थिए।
तथापि २०६३ सालमा जुम्ला–सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र जुम्लाका किसानहरुले स्याउ र ओखर लगाउन तीव्रता दिए।
***
कुनै बेला आयात गरेर स्याउ खेती थालेको जुम्लाका किसानहरु यतिबेला आफूले उत्पादन गरेका स्याउका बिरुवा जिल्लाबाहिर निर्यात गर्न थालेका छन्। यो वर्ष पहिलोपटक दाङमा पनि जुम्लाको स्याउका बिरुवा बिक्री भएका छन्।
सिंजाका किसान हंश कठायतले ६ हजार बिरुवा बेचेका छन्। स्थानीय कृषक गोपाल रोकायाले भने, 'नर्सरीबाटै ६ हजार बिरुवा दुईवटा गाडीमा पठाइयो किसानले सबै बिरुवाको नगद नर्सरीमै पाए।'
नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बेचेको किसानहरु बताउँछन्। फाटफुट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ। जुम्लाका बिरुवा तत्कालीन कर्णालीका पाँच जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म बिक्री हुने गरेका छन्। कुल १ सय १० वटा नर्सरी रहेको जुम्लामा ७५ नर्सरीले सक्रिय रुपमा स्याउको बिरुवा उत्पादन गरिरहेका छन्।
सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार, जुम्लामा स्थानीय जातको स्याउका सात लाख बिरुवा छन्। तर, यसमा ५० प्रतिशत जति बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएका छन्। उनले भने, 'गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि कृषकलाई घाटा हुने र कृषक सचेत हुन आवश्यक छ।'
स्याउको बिरुवा स्थानीय कृषकको प्रमुख आम्दानीको स्रोत रहेको जिल्ला कृषि विकास कार्यालय, जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए। हाल जिल्लाको सिंजा क्षेत्र र गुठीचौर क्षेत्रबाट स्याउ निर्यात भइरहेको छ। ३ हजार ८ सय हेक्टरमा स्याउखेती थालिएकामा १ हजार ५ सय हेक्टरमा लगाइएका स्याउले फल दिन थालेका छन्।
'जुम्लाको चौधौं जिल्ला परिषद्ले 'एक घर एक बगैँचा' कार्यक्रम अगाडि सार्यो। बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग उपलब्ध भयो। त्यसपछि स्याउखेतीको घनीभूत रूपमा विकास भयो,' उनले भने, '२०६४ मा जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरियो। त्यसपछि जुम्ली स्याउको महत्व झनै बढ्यो। अहिले जुम्लामा १२ जातका स्याउ गोल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालियन फुजी र गाला जातका स्याउ उत्पादन हुन्छ।'
पछिल्लो समय कर्णाली राजमार्ग कालोपत्रे भएपछि जिल्लाबाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउखेतीमा भएको पाइन्छ। तथापि कमसल गुणस्तरको भएर बाटो बिक्री भएपछि र जुम्ला सिंजा सडक खण्ड सुधार नहुँदा किसान मर्कामा परेका छन्।