प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र वाग्मती प्रदेश विजयी

बिएल संवाददाता

काठमाडाै‌ं

गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

काठमाडाैंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा वाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो।

१ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो। 

गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे। अभिषेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन्। 

प्रदेश १ का लागि शुभशंकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कँडेल र हेमन्त राईले एक/एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २ रन बनाउन सक्यो। प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४ रन बनाए। मिनास थापा २२ रनमा आउट भए। 
यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश काडेलले १० रन बनाए। 

प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए। 

अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। 

वाग्मतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। 

अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलियन फर्किएका थिए।

सुदूरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न वाग्मतीका रामनरेश गिरीले ४ विकेट लिए। नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो। 

वागमतीका फागि पृथुले सर्वाधिक ८४ रन बनाए। उनले ९४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे। 

त्यस्तै ओपनर आदिल खानले ६३ रन बनाए। वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल र विपिन खाचार्यले समान ३२ ३२ रन बनाए। 

यता पारस खड्काले २०, ईशान पाण्डेले १७, आकाश थापाले १३ रन जोडे। मनरेश गिरी १० रनमा अविजित रहे।

सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए। यस्तै भोजराज भट्ट र सन्तोष भट्टले २-२ र विनोद लामाले १ विकेट लिए।

लगातार जित निकालेको वाग्मतीले २ खेलमा ४ अंक जोडेको छ। वाग्मती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ। यता समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ। गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो। प्रदेश १ पुछारमा छ।

प्रकाशित मिति: : 2021-01-18 17:18:00

प्रतिकृया दिनुहोस्