सुखले साथ छाड्याे, दु:खले छाडेन (भिडियाेसहित)

रामबहादुर घिसिङले काठमाडौंमा 'ज्यामी काम' गर्न थालेको ४३ वर्ष बितिसकेको छ। रामेछापको खड्देवी गाउँपालिका वडा नम्बर ४ का उनले यसबीचमा सयौँ घर बनाउन श्रम खर्च गरिसकेका छन् तर जीवनभरि पसिना बगाए पनि उनलाई दु:खले पछ्याउन छाडेन।

२०३४ साल अर्थात् १७ वर्षको उमेरमा पहिलोपटक राजधानी पसेका थिए। सानैदेखि श्रम गर्न सिके। श्रम बेचेर गुजारा चलाउँदै आए। जीवनमा अरु काम सिक्ने अवसर पनि पाएनन्। कोशिश पनि गरेनन्।  'स्वास्थ्यले साथ नछोडेसम्म यही काम गरिरहनेछु', गोकर्णेश्वर नगरपालिका वडा नम्बर-९ आरुबारीमा भेटिएका घिसिङ्गले भने। 
उमेरले ६० हिउँद-वसन्त पार गरिसकेका उनी पुसको ठण्डीमा पनि बिहान ६ बजे नै घरको गारो लगाइरहेका हुन्छन्। खाना र खाजा खाने समयबाहेक बेलुका ५ बजेसम्म यो क्रम निरन्तर रहन्छ।  

दैनिक झण्डै १२ घण्टा श्रम गर्ने उनको जीवनको कुनै ठूलो लक्ष्य पनि छैन। मात्रै सरकारी विद्यालयमा १० कक्षासम्म छोराछोरी पढाउने, बिहान-बेलुकी दुईछाक टार्ने। उनले भने, 'मैले काम गरिनँ भने मेरो जहान-केटाकेटी कसले पाल्छ, कसले पढाउँछ ? मेरो परिवारलाई कसले हेरविचार गर्छ ?' श्रीमती र छोराछोरी रामेछापको गाउँमै छन्, उनी चाहिँ काठमाडौँमा जसको घरमा काम गर्‍यो, त्यहीँ बस्छन्।



टेम्पोचालिका भन्छिन्– ट्राफिकबाट मिठाे बाेली कहिल्यै सुन्न पाइनँ

२५ वर्षीया टेम्पोचालिका भन्छिन्- लभ गर्नलाई समय छैन



ज्याला गरेबापत दैनिक १२ सय कमाउने उनले हप्ता/पन्ध्र दिनमा घरमा पैसा पठाइदिने गरेका छन्।  गाउँमै रहेकी श्रीमती सुमीत्रा खेतीपातीको काममा व्यस्त छिन्। उनीसँग तीन जना छोराछोरी छन्, क्रमश: ८, ५ र १ मा पढ्छन्। 

रामबहादुरलाई पनि कृषि कर्ममा चासो नलागेको कहाँ हो र ? पत्नी र छोराछोरीसँग बस्ने रहर पनि कहिल्यै पूरा हुने कुरै भएन। तर, बाध्यता ! उनलाई परिवारका लागि खर्च जुटाउनु पनि त थियो। 

बीच-बीचमा उनी गाउँमै फर्केर बस्ने पनि प्रयास नगरेका होइनन्। घर फर्किन्छन्। केही दिन त रमाइलै हुन्छ तर फेरि उही आर्थिक समस्याले गाँज्न थाल्छ। अनि गाउँमा बेरोजगार भएर हल्लिएर बस्नुभन्दा शहरै जाती भनेर फेरि काठमाडौँ फिर्छन्।

४३ वर्षअघि उनी पहिलोपल्ट काठमाडौँ छिर्दा उनका आड थिए- मामा। मामाको नाम के थियो- त्यो पनि बिर्सी सके। उनी सम्झन्छन्, 'त्यसबेला मामा बालाजु बस्नुहुन्थ्यो भन्ने सुनेँ। त्यसबेला अहिलेजस्तो मोबाइल त के, फोन पनि हुन्नथ्यो। मामा भनेर आएँ तर सम्पर्क पनि गर्न सकिनँ।' 

१७ वर्षको उमेर। शहर कहिल्यै नदेखेको। उनले सोचेका थिए, बालाजु भनेपछि मामा भेटिइहाल्लान्। तर, उनले कल्पना गरेभन्दा निकै ठूलो रहेछ काठमाडौँ। गाडी नै गाडी। घर नै घर। गाउँमा जात्रामा जम्मा हुनेभन्दा धेरै मान्छेको भीड सडकपेटीमै थिए। 

मामा नभेटेपछि निराश भएका थिए– रामबहादुर। त्यो दिन सम्झँदा आज पनि दु;खी हुन्छन् उनी। आफु अलपत्र पर्छु कि भन्ने डरले उनलाई भित्रभित्रै सताउन थालिसकेको थियो। काठमाडौँ खाल्डोमा मामाबाहेक अरु कोही पनि आफन्त थिएनन् उनका। 

गाउँबाट पहिलोचोटी सहर पसेका उनी बेलुकाको खाना खान सोह्रखुट्टेको होटेलमा पसे। घोसेमुण्टो लगाएर बसेका उनलाई कसैले सोधे, 'भाइ काम गर्छौं?'
भनाइ छ, 'जसको कोही हुँदैन, उसको कोही हुन्छ।' रामबहादुरले चिताएका पनि थिएनन्, त्यसरी काम गर्ने प्रस्ताव आउँदा अकमक्क भए। 'मैले कहिल्यै काम गरेको थिइनँ। कामको अनुभव नै थिएन', उनले सम्झे, 'मैले के काम गर्नुपर्छ भनी सोधेँ। उहाँले ज्यामी काम गर्नुपर्छ। इट्टा, बालुवा बोक्नुपर्छ भन्नुभयो। एक-दुई दिन अरुले काम गरेको देखेपछि आइहाल्छ नि ! उहाँले मलाई आश्वाशन दिनुभयो।'



जसका लागि काठमाडौं नै कतार र मलेसिया

सांसदलाई महाबौद्धबाट मजदुरको खबरदारी– काम नगरेको बेलाको तलब–भत्ता लिन मिल्दैन



'ढुंगा खोज्दा देउता भेटे' जस्तो भयो उनलाई। रामबहादुर काम गर्न तयार भए। बिरानो ठाउँमा उनको साहारा बने, चन्द्रलाल श्रेष्ठ। जसले उनलाई काम दिए। काम गर्न प्रेरणा पनि दिएका थिए। उनी श्रेष्ठकै घरमा बसेर काम गर्न थाले। गाँसबास पनि उनकै भर।

बिहान ६ बजेदेखि साँझ आँखा देखुन्जेलसम्म उनी चन्द्रलालको घर बनाउनमा खट्ने गर्थे। उनले दैनिक ज्याला ३ रुपैयाँ पाउन थाले। रामबहादुरले सात वर्ष मजदुरी गर्दा श्रेष्ठ दाजुभाइका दुईटा घर तयार भयो। ज्यामी काम गर्ने उनले गारो लगाउने काम पनि सिक्ने अवसर पाए। उनी ज्यामीबाट मिस्त्रीमा पदोन्नति भए। कमाइ पनि बढ्यो। मिस्त्रीको दैनिक ज्याला ज्यामीको भन्दा २ रुपैयाँ बढी थियो। 

मिस्त्री काम सिकेर उनी गाउँ फर्किए– २०४१ सालमा। जहाँ उनका घरपरिवारले विवाहको कुरा चलाइसकेका थिए। 'केटी सोझी छिन्, मेहनती छिन्, राम्रोसँग गरेर खान सक्छिन् भन्दै मलाई आफन्तले विवाहको लागि उक्साउनुभएको थियो', उनले भने। 

बारा जिल्लाकी सुनमाया मोक्तानसङ्ग उनी वैवाहिक बन्धनमा बाँधिए। बेहुली उनीभन्दा १० वर्ष कान्छी थिइन्। विवाह गरेर उनले श्रीमतीलाई आफूसँगै काठमाडौँ ल्याए। उनको डेरा थियो- गोंगबु। 

पति मिस्त्री काम गर्थे। सुनमाया पनि त्यतिकै बसिनन्। उनी गलैँचा बुन्न थालिन्। धागो डल्ला पार्ने काम गरिन्। विवाह गरेको पाँच वर्षपछि सुनमायाले पहिलो सन्तानलाई जन्म दिइन्। 
२०४८ मा रामबहादुरको परिवार गोंगबुबाट अत्तरखेल सर्‍यो। रामबहादुर आफ्नै पेशामा व्यस्त रहन्थे भने उनकी श्रीमती गलैँचा कारखानामा धागो डल्ला गर्थिन्। उनी बिहान ४ बजे जाँन्थिन्। १२ बजे खाना खान आउँथिन्, फेरि गएर रातको साढे ९ बजेसम्म काम गर्थिन्।

पत्नी बढी काममा घोटिने भएकाले रामबहादुरले नै छोराछोरीलाई खाना खुवाएर स्कूल पुर्‍याउने गर्थे। २५ वर्षको उमेरमा सुनमायाले दोश्रो सन्तान सुजितलाई जन्म दिइसकेकी थिइन्। पतिपत्नी नै कमाउने भएकाले छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गरे। 

लाउन–खानमा कुनै दु:ख थिएन। जीवन सुख-उन्मुखमय नै बितिरहेको थियो तर ०६२ साल असारमा उनलाई गाउँबाट खबर आयो- काका बितेको। गर्भवती श्रीमती र केटाकेटी चेपेर उनी गाउँ लागे। छोराले गर्नुपर्ने सारा कर्तव्य उनले पनि पूरा गरे।

चार महिनापछि सम्पूर्ण काम सक्काएर फर्किने तयारीमा थिए, पत्नीलाई प्रशव बेथाले च्याप्यो। असोज २२ गते बिहानको ५ बजे उनले छोरा सुनीललाई जन्म दिइन्। केही क्षण मात्र सन्तानलाई काखमा राखेकी उनले ५:४५ मा संसार छाडिन्। उनको मृत्युको कारण थियो- बढी रगत बग्नु। अस्पताल नभएको कारण श्रीमतीले ज्यान गुमाउनुपरेको उनको गुनासो छ। 
जिन्दगीभरि साथ दिन्छु भनेर वाचा गरेकी श्रीमती उनको साथमा रहिनन्। उनलाई संसार नै सकिएको लाग्न थाल्यो। बिस्तारै उनलाई बोझ लाग्न थाल्यो-जिन्दगी। श्रीमतीसंगै जाने मन नभएको होइन तर उनलाई पिता हुनुको दायित्वले रोक्यो।



आरुबारीकी चट्पटे आन्टी

बाबु वैदेशिक रोजगारीमा, आमा परपुरुषसँग: भाइ पढाउँदै रेणु



सन्तानलाई बाबुआमासँग छाडेर उनी ५ महिनापछि पुन: काठमाडौँ फर्किए। उनलाई बालबालिकालाई पढाउनु पनि त थियो। 'गाउँमै बसेको भए मेरा छोराछोरीलाई केको पैसाले पढाउनु?', उनले भने। उनीसँगै काम गर्ने साथी थिए- घिसिङ्ग दाइ। जसले उनको दु:खलाई बुझेर विवाह गर्ने सल्लाह दिए। उनलाई त्यसले दाइले भनेका रहिछन्-'तिमीले सन्तानको मुख हेरेर भए पनि दोश्रो विवाह गर्नैपर्छ।'

आमा र बाबुको माया दिन चुक्ने डरले उनी अर्को विवाह गर्न तयार भए। उनलाई परिवारले पनि साथ दियो। ०६२ सालमा उनको पुन: विवाह खोटाङ्गकी सुमीत्रा स्याम्बोसँग भयो। उनी दाजुभाउजूसँग माकलबारीमा बस्न आएकी रहिछन्। 

उमेरले उनीभन्दा १५ वर्ष कान्छी। छोराछोरी हुर्काउनका लागि सुमीत्रालाई उनले गाउँमै राखे। कान्छी आमा भएता पनि उनले कहिल्यै शौतेनी व्यवहार नगरेको रामबहादुरको भनाइ छ। 'मेरा जेठीको छोराछोरीलाई कान्छीले नै हुर्काई', उनले भने। हालै उनको जेठी छोरी विवाह गरेर आफ्नो घर गइसकेकी छन्। जसले 'एसएलसी' सम्म पढिन्।



आफ्नै बलबुतामा वकिल बन्न निस्किएकी चेतना दोङ

काखे छोरी छाडेर १६ वर्षीया आमा बेपत्ता



उनको जेठो छोरा आरुबारीमा बस्छन्। उनी एक छोराका बाबु हुन्। उनले तेकन्दो सिकाउने गर्छन्। कान्छा छोरा सुनिल कक्षा ९ मा अध्यन छन्। दाजुभाउजू उनका सहारा बनेका छन्। उनी पनि लकडाउनअघि छोरासँगै बसेर काम गर्थे तर अहिले जोसँग काम गर्छन् उसैसँग बस्न थालेका छन्। दिनहुँ काम गरे मात्र दाम कमाउने उनलाई बेरोजगार हुने डर छ। 

'मेरो पनि काम भएन भने त मेरो परिवार त बिच्चली नै हुन्छ' उनले भने। आज काम भयो भोलि हुँदैन की भन्ने डरले उनलाई पिरोल्ने गर्छ। उनको मात्र एउटा चाहना छ- त्यो हो छोराछोरीलाई १२ कक्षासम्म पढाउने। 'म सधैँ मेरो स्वास्थ्यले साथ छोड्छ कि भन्ने त्रासमा हुन्छु' उनले भने, 'अब उमेर पनि त हुदैछ नि ! म नै रहिनँ भने मेरो परिवारको हालत के हुन्छ होला ?'

प्रकाशित मिति: : 2021-03-21 20:00:00

प्रतिकृया दिनुहोस्