दोलखाका प्रकाश श्रेष्ठले भरिया काम गरेको १८ वर्ष भयो। उनी काठमाडौंको महाबौद्वमा भारी बोक्न सधैँ ‘ग्राहक’ कुरिरहेका हुन्छन्।
बिहान साढे ५ बजे हातमा नाम्लो बोकेर उनी महाबौद्ध पुग्छन्। साँझ साढे ७ बजेसम्म उनी काममै हुन्छन्।
उनको काम गरेबापत कुनै ‘रेट’ त छैन तर एउटा सामान बोकेवापत ३० देखि सय रुपैयाँ लिने गर्छन्।
उनले दुखेसो सुनाए, ‘हाम्रो कामको निश्चित मूल्य नै छैन्। मनलाग्दी छ तर के गर्नु काम त गर्ने पर्यो। काम नगरे ज्याला आउँदैन। चुलोमा आगो बल्दैन। कहिलेकाहीँ त दिनभरि कुर्दा पनि एउटै काम नपाएर रित्तै हुन्छ।’
दिनभरि भारी बोकेर जीविका चलाउने उनले भने, ‘पैसा कमाउन हामी बिहानदेखि बेलकासम्म खट्छौँ तर नेतालाई कुर्सी तानातान र हानाहान गरेरै पैसा कमाउँछन्।’
दोलखाकै अर्का मजदुर भद्रबहादुर तामाङले पनि विगत १५ वर्ष काठमाडौंका गल्लीमा भारी बोकेर बिताएका छन्।
उनी भारी बोक्न नपाएकाले काठमाडौंको डेरामा धेरै छाक भोकै सुत्न बाध्य भएका छन्।
यसै वर्ष पनि कोरोना भाइरस महामारी फैलिएपछि भद्र, प्रकाशजस्ता धेरै जना भारी बोकेर जीवन चलाउने मजदुरहरुले कयौँ छाक भोकै बिताएका छन्।
उनलाई राम्ररी थाहा छ– काम नगरी ज्याला पाइँदैन, काम नगरी कसैले ज्याला लिन पनि हुँदैन ।
उनले सुनेका छन्– विघटित प्रतिनिधिसभा अदालतले पुनस्र्थापना गरेको। यो पनि थाहा छ– सांसद्हरुले नौ–१० महिनादेखि केही काम गरेका छैनन्। पछिल्लो दुई महिनाभन्दा बढी त विघटन नै भएको छ। तर, त्यो अवधिको पनि नेताहरुले देशको ढुकुटीबाट तलब खाँदैछन्। त्यो पनि महिनाको लाख–लाख रुपैयाँ।
उनलाई थाहा छ– काम नगरेको अवधिको तलब–भत्ता बुझ्नु अनैतिक काम हो। राष्ट्रिय ढुकुटीको खर्च गर्ने अख्तियारी पाएका सांसद्हरूले प्रतिनिधिसभा विघटित भएको अवधिको पारिश्रमिक बुझेको उनलाई पटक्कै चित्त बुझेको छैन।
उनले भने, ‘हामीले भारी नबोकेको दिन पारिश्रमिक आउँदैन अनि माननीय भएँ भन्दैमा गरीब नेपालीले तिरेको करबाट काम नगरेको अवधिको तलब–भत्ता खान मिल्छ?’
मजदुर प्रकाश श्रेष्ठ नेताहरुलाई भोट हालेर जिताए पनि श्रमजीवीका लागि केही नहुने निष्कर्षनजिक पुगेका छन्। ‘सरकारले हाम्रालागि केही गरेको छैन। राज्यले हामी सडकका मान्छेलाई हेदैँन, वास्ता गदैँन’, उनले भने, ‘गरीब गुरुवाको कुरा कसले सुन्छ हजुर यो देशमा!’
काभ्रे चौरी–देउराली गाउँपालिकाका ४३ वर्षीय किशोर दाहालले पनि काठमाडौंमा भारी बोक्न थालेको २१ वर्ष भयो। एउटा भारी बोकेबापत ५० देखि सय रुपैयाँ कमाउँछन् तर कहिलेकाहीँ त अबेरसम्म पनि ‘बोहनी’ सम्म नहुने उनी बताउँछन्।
उनले भने, ‘कहिले त एक रुपैँयाको पनि कमाई हुँदैन।’ उनले भारी बोक्नु रहर नभई बाध्यता रहेको बताए।
‘सरकारले रोजगारी दिन्छु भन्छ तर खोइ ?’ उनले प्रश्न गरे। भने, ‘नेताहरु चुनावका बेला मात्र भोट माग्न राम्रोसँग बोल्छन्। विकासका काम गरिदिन्छौँ भन्छन् तर गर्ने केही होइन। भोट दिएपछि नेताले नाक मुख देखाउदैँनन्।’
‘महामारीका बेला जनताले खायो कि खाएन भनेर मतलब गरेन। उनीहरुलाई त मात्र आफ्नो चिन्ता छ’, उनले भने, ‘अब भोट माग्न आए, भने जुत्ताको माला लगाएर पठाउछौँ ।’