आरुबारीकी चट्पटे आन्टी (भिडियाेसहित)

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

५३ वर्षीया विष्णु नेवारको दिन चट्पटे खाने मान्छेको प्रतीक्षामा नै कट्ने गर्छ। उनको चिनारी नै फेरिँदै गएको छ– 'चट्पटेवाली' । पाकापुस्ताकाहरु भन्छन्, 'चट्पटेवाली' । तन्नेरी पुस्ताले चिन्छ– 'चट्पटे आन्टी' भनेर। 

बिहान ९ बजेदेखि साँझको ७ बजेसम्म उनी चट्पटे व्यापारमै सक्रिय रहन्छिन्। उनले गोकर्णश्वर नगरपालिका वडा नम्बर-९, आरुबारी चोकमा चट्पटे र पानीपुरी बेच्न थालेको तीन वर्ष भयो। 

तीन वर्षमा उनको स्वादले धेरैलाई भुल्याइसकेको छ।  अहिले त उनको चट्पटेका स्थायी ग्राहक नै भइसके। आयआर्जनको स्रोत नै उनको व्यापार बनेको छ। दैनिक १५ सयदेखि २ हजारसम्म कमाइ हुने उनले बताइन् ।  

'श्री अरुणोदय उच्च माध्यमिक विद्यालय' नजिकै आफ्नो चट्पटेको गाडा राखेकी छन्। उनका व्यापार नै बढीजसो विद्यार्थीले नै भरिभाउ रहन्छ। स्कुले केटाकेटी नै उनका दैनिक ग्राहक हुन्। आक्कलझुकल बाटो हिँड्ने मान्छे उनीकहाँ चट्पटे खान आउँछन्। उनले भनिन्, 'पानीपुरी र चट्पटे चाख्न नचिनेका मान्छे पनि आउनुहुन्छ ।' 

आफ्नो व्यापार बढ्दै गरेको देखेर उनी खुशी छिन्। 'कहिलेकाहीँ आफूलाई समस्या हुँदा कसैको अगाडि हात फैलाउनुपर्दैन' व्यापारले सहायता गरेको छ', उनले बिएल नेपाली सेवासँग भनिन्। 

विष्णु आफू त चट्पटे बेचेर स्वरोजगार भएकी छिन् नै, उनले छोरीलाई पनि स्वरोजगार बनाएकी छिन्। उनले दुई वर्षअघि मात्रै छोरी सरीताका लागि चिया पसल खोल्दिएकी थिइन्। आ -आफ्नो व्यापारमा व्यस्त छन्- आमाछोरी। आफैँमा आत्मनिर्भर जो छन्। 

विष्णु नेवार एकल महिला हुन् । पतिले छाडेको दुई दशक भएको छ । पतिले छाड्दा छोरी सरीता सात वर्षकी मात्र थिइन् । पतिसँगै हुँदा पनि दु:ख नै थियो । आर्थिक अभाव, त्यसमाथि परस्त्रीसँग रमाउने पतिको स्वभावले उनको मन कम्ति पोल्दैनथ्यो । सानी छोरीसँगै पतिले छाडेर हिँडे– अर्कैसँग । त्यसपछि सरीतालाई दु:खको पहाडले थिचेको थियो। 

विष्णु अहिले ५३ वर्ष भइन् । रामेछापमा जन्मिएकी उनी सानैमा आमाबिहीन भइन्। पिता बहादुरेलाई त्यागेर आमा मसिना परपुरुषलाई रोजेर गइन्। 

छ छोरीमध्ये जेठी थिइन् । आमाले छाडेर हिँडेपछि उनलाई विद्यालय जाने अवसर जुरेन। त्यसबेला छोरीले पनि छोरासरह नै पढ्नुपर्छ भन्ने भावना अहिलेजत्तिको हुने कुरै भएन । त्यसमाथि पनि पहाडको ग्रामीण समाज ! उनको वाल्यकाल घरधन्दा र घाँसदाउरामा नै बित्ने गर्थ्यो। उनी बहिनीहरुको रेखदेख गर्नमा पनि चुक्दिनथिन्। 

जेठी भएर होला, उनी घरव्यवहारको विषयमा निक्कै बाठी थिइन्। उनी काम गर्नमा अल्छी थिइनन्। २३ वर्षकी हुँदा उनको विवाह भयो– तिलक श्रेष्ठसँग । उमेरले उनीभन्दा १५ वर्ष जेठा। काठमाडौँमा बस्दैआएका तिलकलाई उनीसँग आफन्तले जुराएका थिए। 

हेर्दा सोझो र लायकै देखिन्थ्यो, केटो। उनलाई विवाह गर्नमा चासो भने थिएन तर परिवारका अगाडी केहि नै लाग्थ्यो र उनको ! बच्चा छँदा आमाको ममताबाट वन्चित भएकी उनले आमाझैँ सासुले स्नेह गर्छ भनी आश बोकेकी थिइन्। उनी सोच्थिन्- आखिर सासू पनि त आमा हुन्।

विवाह गरेकै दिन उनलाई श्रीमानले राजधानीको जोरपाटी ल्याए, जहाँ सासू बस्थिन्। ससुरा बितिसकेका रहेछन् । माइतमा घर–व्यवहार धानेर बसेकी उनलाई घरमा सुखको दिन आएन। दिनरात सासूको गाली सहनु उनको आदत नै बन्यो। 

सासूबाट माया नपाएपछि घरमा हेपिन थालिन्। सासूका आँखामा उनी कसिंगर हुन थालिन्। 'सहरमै नै एकसेएक केटीको लाइन लागेको थियो। यही गाउँले नराम्री केटीलाई ल्याउनुपर्छ?', ३३ वर्षअघि सासूले पतिलाई भनेको कुरा विष्णुका मनमा अहिले पनि बिझेर बसेका छन्। 'सासूले मलाई सधैँ गाली गरिरहनुहुन्थ्यो। उहाँका लागि म कहिल्यै राम्रो हुन सकिनँ', उनले भनिन् । 

सासूले साह्रै हेप्थिन् । 'गाउँको मान्छे पैसामा बिक्री हुन्छ । यसलाई अलि–अलि पैसा दिएर गाउँ नै फर्काइदे !',  सासूले छोरासँग आग्रह गरेकी थिइन् । 

आमाको कुरालाई नकार्दै उनका पतिले भन्ने गर्थे, 'बिचरी ! आमाबिनाको सन्तान हुन्। दु:ख बुझेकी छिन्।' त्यसबेला विष्णुलाई लाग्थ्यो, 'कस्ता असल र बुझकी श्रीमान !' 
तिलक पेशाले घर बनाउने कर्मी थिए। पहिलादेखिकै मिहिनेत उनी पनि गलैँचा बुन्ने गर्थिन्। काम गरेर कमाएको पैसा सासुले छिनाएर लागेको उनले बताइन् तर उनली त्यसमा कुनै हेक्का थिएन। श्रीमानको साथ पाएको सोच्ने जो गर्थिन् उनी। 

समय बित्दै गयो । उनका पतिको व्यवहार बदलिँदै गयो, असली अनुहार देख्न थालिन्। 
नशा गर्नमा माहिर रहेछन्- तिलक। मद्यपानको नशामा चुल्लुमै डुबेका श्रीमान कुटाईको शिकार हुँदै गरिन् विष्णु। 'मलाई मातेर आएर सधैँ कुट्नुहुन्थ्यो। तर, मेरो सासूले छोरालाई सम्झाउनका सट्टा अझै उत्साहित गरेर कुट्न लगाउनुहुन्थ्यो', उनले भनिन्, 'मलाई कसैको साथ थिएन।'

रक्सि पिएर स्वास्नीलाई कुट्ने उनी बिस्तारै केटीसँग पनि लाग्न थाले। घरैमा केटी ल्याउनसमेत पछि परेनन् उनी। 'मैले त्यसको विरोध गर्दा खुकुरीले काट्न आउनुहुन्थ्यो, म केही बोल्न सक्दिनँथिए', उनी भन्छिन्, 'अन्याय सहन सक्थेँ ।' रक्सी खाएर दैनिकजसो कुट्थे उनका पतिले । 

वैवाहिक सम्बन्धमा बाँधिएको २ वर्षपश्चात् उनी गर्भवती भइन्। श्रीमानको अत्याचारबाट छुट्कारा पाउने आशमा निक्कै फुरुक्क परिन् उनी। गर्भवती भएपछि नौ महिनासम्म लोग्नेको ढोल हुनबाट बचेकी थिइन् । 

तर, ०५० सालमा छोरीलाई जन्म दिइन्, छोराको अपेक्षा राखेका लोग्नेले उनलाई छोरा नपाएको कुटपिट गर्न थाले। 

पुरानै लयमा फर्किएका श्रेष्ठले छोरीलाई समेत बेवास्ता गर्थे। 'उहाँले कमाएको पैसा बाहिरी केटीमा खर्च गर्नुहुन्थ्यो। घरमा एक रुपैयाँ पनि खर्च गर्नुहुँदैन थियो। 

राशनपानीमा मैले धानेकी थिएँ', दु:ख पोख्दै उनी सुनाउँछिन्, 'छोरीलाई नयाँ कपडा किन्ने समेत पैसा हुँदैनथ्यो।' 

०५७ सालमा छोरी र उनलाई छाडेर परस्त्री लिएर हराए– तिलक। त्यस बेला छोरी मात्र सात वर्षकी थिइन्। श्रीमानले त्यागेर जाँदा उनी दु:ख थिइनन्। 'स्वतन्त्र भएको महसुस गरेकी थिए' उनले सुनाइन्। 

बुढेशकालको साहारा छोरीलाई सम्झेर दु:ख गरेर हुर्काउने अठोट कसिन् उनले। छोरीको पर्वारेशका लागि उनले ज्यामी काम गर्ने सोच बनाइन्। छोरीलाई उनले 'श्री सहयोगी उच्च माध्यमिक विद्यालय' मा भर्ना गराइन्। छोरी सरीतालाई 'एसएलसी'सम्मको शिक्षा दिलाउन सकिन्। भन्छिन्- 'छोरीलाई कलेज पढाउने कहाँ हैसियत थियो र मेरो?' 

छोरीलाई शिक्षित बनाउने संघर्ष देखेर उनलाई 'मिलिजुली संस्था' ले व्यापार गर्ने मौका दियो। जहाँ उनी प्रत्येक शनिवार प्रार्थना गर्न जान्थिन्। उनलाई चर्चका गुरुबाले नै व्यापार गर सुझाव दिएका थिए। पाँच वर्षअघि उनलाई संस्थाबाट व्यापार गर्नका निम्ति १० हजार दिइएको थियो। रकमको प्रयोग गरेर उनले ठेला गाडामा चाउचाउ र तितौरा बेच्न थालिन्। 

गाडामा समान बेचेवापत उनले महिनामा १ हजार रुपैया तिर्न पर्थ्यो। 'त्यो सानो व्यापारबाट फाइदा हुन थाल्यो, त्यसैकारण चट्पटे पनि बेच्ने निधो गरे' उनले भनिन्। उनले चट्पटे बनाउन उनकै भदैसँग सिकेकी थिइन्। जसले उनको जीवनमा आमूल परिवर्तन ल्यायो। अहिले उनी सोच्ने गर्छिन्- 'बेलैमा व्यापार गरेँछु।' 

अहिले उनलाई केही कुराको कमी छैन। दुई छाक हात मुख जोड्न उनलाई कुनै मुश्किल छैन तर उनलाई छोरीको भने बडो चिन्ता छ। २७ वर्ष पुगिसकेकी छोरीको विवाहका बारेमा सोच्दा निकै चिन्तित गर्छिन् उनी। भन्छिन्- 'छोरीको डर लाग्छ कस्तो घरमा पर्ने हो।' 

आफुले भोगेको दुख आफ्नी छोरीले पनि सहनुपर्ने हो कि भन्ने डरले उनी सधै त्रसित रहन्छिन्। 'मलाई जस्तो ससुराल कसैको छोरीलाई नपरोस्' उनी भन्छिन्। छोरीलाई राम्रो घरमा पठाउने लक्ष्य राखेकी उनले बिहेको लागि बचतसमेत गरिरहेकी छन्। 'छोरीको विवाहकै लागि वचत गर्दैछु' उनले भनिन्।
 

प्रकाशित मिति: : 2021-01-17 11:55:00

प्रतिकृया दिनुहोस्