शेयरबजार बुलिश ट्रेण्डमै, शेयर परिसूचक १५.९१ अंक नेप्सेको हालसम्मकै उच्च विन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजार सूचक नेप्सेले साताको अन्तिम दिन २२ सय विन्दु पार गरेर बजारमा थप रौनक छायो । यसै साता नेप्सेले तीन पटक एकपछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो। 

यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। 
सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले आज पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो। बजारले उकालो यात्रा जारी राख्ने अपेक्षा गरिएको छ ।

दोहोरो अंकले बढेको बजारलाई खरिदबिक्री रकमले क्रमशः साथ दिंदै गएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा आकर्षिक बढोत्तरी देखिनुले लगानीकर्तालाई थप उत्साहित बनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । कर्जाको ब्याजदर सस्तो छ । सस्तो ब्याजका कारण शेयरबजार निकै राम्रो प्रभाव परेको हो ।

बिहीवार २०८ कम्पनीको ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १७ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । अन्य समूहबाहेक बाँकी सबै समूहको सूचकमा वृद्धि भएको छ । व्यापारिक, उत्पादनमूलक र निर्जीवन बीमा समूहमा सबैभन्दा बढी तेजी आएको छ ।

कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मल्टीपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ भने वित्त, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 
कारोबारमा आएको एभरेष्ट बैंकको परिवर्तीय अग्राधिकार शेयरको मूल्य बिहीवार सर्वाधिक ३.८१ प्रतिशत घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने ०.२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: : 2021-01-07 17:27:00

प्रतिकृया दिनुहोस्