राष्ट्रियताका पक्षमा ओलीले अडान लिँदा सरकार ढाल्ने षड्यन्त्र भयाे: भगवती चौधरी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले सरकारलाई विभिन्न तवरले घेरावन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्रीले नचाहँदा नचाहँदै संसद विघटन गर्नु परेको  बताएकी छन् ।

सुनसरी क्षेत्र नं ३ को इटहरी उपमहानगरपालिका आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ चौधरीले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडान, संमृद्ध मुलुक सुखी नेपालीको नाराकै कारण मुलुकलाई परिवर्तनको दिशातर्फ अगाडी बढाउन नचाहने तत्वले नेकपालाई फुटको दिशातर्फ उन्मुख बनाइएको पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरीले बताइन् ।

‘सरकारले जनताका पक्षमा राष्ट्रियताका पक्षमा काम गर्दागर्दै आफ्नै पार्टीभित्र शीर्ष नेताहरुले देशी विदेशी शक्तिहरुको इशारामा लागेर सरकार ढाल्ने षड्यन्त्र गरे। प्रमुख प्रतिपक्षले समेत सरकारलाई काम गर्न दिनुपर्छ भनेर संयमता अपनाउँदा आफ्नै पार्टीभित्रका नेताहरुले सरकारलाई असफल पार्ने काम गरे,’ चौधरीले अगुवा नेता कार्यकर्तालाई संवोधन गर्दै भनिन् ।

ओली सरकारलाई सुरुदेखि नै काम गर्न नदिने रणनीति अपनाइएको चौधरीको बुझाई छ ।

 ‘मंसिरमा चुनाब भयो, फागुनमा सरकार गठन गर्दा नै प्रचण्ड पक्षहरुले सरकारमा जाने–नजाने बखेडा निकालेका थिए,’ उनले भने। 

चौधरीले संविधान जारी गर्ने बेलामा पनि अवरोध पैदा गर्दा ओलीले संक्रमणकाल लम्बिने, राजनीतिक अस्थिरता हुन्छ भनेर संविधान जारी गर्नैपर्छ भनेर अडान लिएपछि मात्र संविधान जारी भएको बताइन् ।

उनले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संवैधानिक भएको बताउँदै महिला राष्ट्रपति भएकै कारण सडकमा उछितो काढिएको जिकिर गरिन् ।

 ‘हाम्रो संविधानले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेकोले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई राष्ट्रपतिले रोक्ने कुनै अधिकार छैन । 

‘उहाँले त्यहि अधिकार प्रयोग गर्दा आज सडकमा सुन्न नसकिने नाराहरु लागि रहेका छन्,’ चौधरीले भनिन्–‘संविधानले सबैलाई आफ्ना कुरा राख्ने छुट दिएको छ भन्दैमा मुलुककै सर्वोच्च पदमा रहेकालाई समाजमा पच्नै नसक्ने प्रकारका शब्द प्रहार गर्नु कत्तिको उचित हो?’


राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र समावेशिताका सवालमा संसदमा रहँदा धेरै काम गरेको तर्क गर्दै विद्यादेवी भण्डारीले महिलाहरुलाई राजनीतिमा स्थापित गराउँनै पर्दछ भनेर संसदको सर्वदलीय ककस र संबैधानिक परिषद्को बैठकमा जोडदार कुरा उठाएको स्मरण गरेकी थिइन् ।

‘मेयर उमेयर, लयायत राज्यका महत्वपूर्ण स्थानमा महिलाको प्रतिनिधित्व गराउनु पर्छ भनेर उहाँले लिएको अडानकै कारण आज महिलाहरु स्थानीय निकाय देखि राज्यमा विभिन्न ठूला पदमा पुगेका छन् । 

‘एउटी महिला मुलुकको सर्वोच्च पदमा रहँदा उनलाई होच्याउनु भनेकोे संविधान र समावेशिताको विरुद्ध हो । राष्ट्रपति भण्डारी महिला अधिकारका पक्षमा वकालत गर्ने नेतृत्व हुनुहुन्छ,’ चौधरीले भनिन्–‘उहाँप्रति निकृष्ट प्रकारको गाली गलौज गर्नु भनेको समग्र महिला माथिको अपमान हो ।’

अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय सदस्य तैयव हुसैन अर्का केन्द्रीय सदस्य तथा १ नं प्रदेश कानुन तथा प्रशासनमन्त्री हिक्मत कार्की, प्रदेश कमिटी अध्यक्ष रोहित कार्की लगायतले बर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको अवस्थाका बारेमा नेता तथा कार्यकर्ताहरुलाई अवगत गराएका थिए ।
 

प्रकाशित मिति: : 2021-01-06 16:01:00

प्रतिकृया दिनुहोस्