ई–सपिङमा नियमनका लागि छुट्टै ऐन ल्याइँदै, कसुर गर्नेलाई फौजदारी मुद्दा

रातोपाटी

काठमाडौँ

 

शंकर अर्याल

विद्युतीय माध्यमबाट हुँदै आएको वस्तु तथा सेवाको व्यापारलाई नियमन गर्न नयाँ कानुन ल्याउने तयारी थालिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनलाइन माध्यमबाट हुने त्यस्तो कारोबारलाई कानुनी दायरामा ल्याउने उद्देश्यले नयाँ ऐनको विधेयकको तयारी अघि बढाएको हो । उक्त विधेयकको मस्यौदा तयार गरी मन्त्रालयले आवश्यक सुझाव संकलन गर्ने प्रक्रिया थालेको छ ।

प्रस्तावित विधेयकको मस्यौदामा आफ्नै उत्पादनका वस्तु तथा सेवा बिक्री गर्न वा अन्तरवर्ती व्यवसायी (एजेन्ट) मार्फत् खरिदबिक्री गर्ने दुवै बाटो खुला राखिएको छ ।

प्रस्तावित ऐन अनुसार अब अनलाइन कारोबारका लागि बिक्रेताहरुले वाणिज्य विभागमा आफ्नो व्यवसायको दर्ता अनिवार्य रुपमा गर्नु पर्नेछ । साथै यसरी व्यापार गर्ने अनलाइन प्लेटफर्मसमेत अनिवार्य रुपमा खडा गर्नुपर्नेछ । सो पोर्टलमा आफूले बेच्ने वस्तु तथा सेवाहरुको सम्पूर्ण विवरण तोकिएको ढाँचामा प्रकाशन गर्नुपर्ने उल्लेख गरिएको छ ।

बिक्रेताले आफूले खडा गरेको प्लेटफर्म (अनलाइन पोर्टल) मा आफूले बिक्री गर्ने वस्तु तथा सेवाको विवरण राख्नुपर्ने तथा त्यस्तो वस्तु तथा सेवा खरिदबिक्री भएमा त्यसको हस्तान्तरण हुँदा लाग्ने करसहितको मूल्य प्रकाशन गर्नुपर्नेछ । 

त्यस्तै, वस्तुको आकृति, उत्पादन मिति, उत्पादकको विवरण अनिवार्य रुपमा उल्ले गर्नुपर्ने तथा वस्तुको प्रकृति अनुसार आकार, रंग, समिश्रण, तौल, अन्तरनिहीत तत्त्वहरु र उपभोग गरिसक्नुपर्ने अवधि तथा वस्तु तथा सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीसमेत अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: : 2021-01-04 12:30:00

प्रतिकृया दिनुहोस्