नेप्से बुलिस ट्रेण्डमा उकालो, कारोवार रकममा वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

शेयर बजार पुनः बुलिस प्रवृत्तिमा अघि बढेको छ। अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन खुलेको शेयरबजार परिसुचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा आइपुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु हो।

साताको पहिलो दिन बजार ४.२२% ले बढेको हो। २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ करोड ४० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

कतिपय कम्पनीहरुको भाउ बढेर सर्किट ब्रेकर लागिरहेको छ। सबै समूहका सूचक बढेका छन्। विशेषगरी बैंकिङ समूहमा उछाल आएपछि समग्र बजारमा नयाँ तरंग देखिएको हो। बिमा, व्यापारिक, उत्पादनमूलक र अन्य समूहमा पनि व्यापक तेजी आएको छ। करेक्सनपछि नेप्से सूचक फेरि ऐतिहासिक उचाई तय गर्ने क्रममा अघि बढेको छ।

आइतबार नेप्सेले अघिल्लो दिन अर्थात गत बिहीबारको अलटाइम हाइ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो। गत बिहीबार नेप्से २०८७.२७ विन्दुमा बन्द भएको थियो। जुन त्यो दिनसम्मको अलटाइम हाइ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स १७.१८ अंक बढेर ४१५.८८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०७ अंक बढेको छ।

त्यसैगरी, यस दिन नेप्सेले इन्ट्रा डे अलटाइम हाइ रेकर्ड पनि बनाएको छ। नेप्सेले आइतबार यस अघिको इन्ट्रा डे अलटाइम हाइ २१२८.८५ विन्दुलाई तोडेर २१७५.९६ को नयाँ रेकर्ड बनाएको हो।

सबै समूहका सूचक वृद्धि भएका छन्। ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेका छन्। खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसको ५० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा प्राइम बैंक र तेस्रोमा नेपाल टेलिकम परेका छन्। 

यस दिन नेप्सेसँगै कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन्। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.६४ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक ६.१९ प्रतिशत बढेको छ। 

त्यसैगरी, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५० करोड ९५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन प्राइम कमर्शियल बैंकको ५० करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्शियल बैंकको साधारण तथा संस्थापक शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, कुमारी बैंक, गुराँस लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको राधी विद्युत कम्पनीको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२९ प्रतिशत घटेको छ। त्यस्तै, शिवश्री हाइड्रोपावर र युनाइटेड फाइनान्सको शेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: : 2021-01-03 15:46:00

प्रतिकृया दिनुहोस्