प्रधानमन्त्री ओलीलाई सुझाव: नेतालाई जागिर खुवाउने थलो मात्रै भयाे, संघीयता खारेज गर्दिनुस्

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (ओली) नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख गरेकी छन्।

‘यो मेरो व्यक्तिगत विचार हो। नेताहरूलाई जागिर खुवाउने थलोमात्रै भएको छ, प्रदेश। यो हाम्रोजस्तो सानो देशले धान्दैन। धेरै नेता थुपारेर मात्रै हुँदैन’ पालले भनेकी छिन् ।

पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी थिइन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार,’ पालले भनेकी छिन्।

उनले संघीयता खर्चिलो  र प्रदेशको त झन् कामै नदेखिएको समेत बताएकी छिन्। 

‘बरु स्थानीय तहलाई थप बलियो बनाऔं । जनताले चाहेको अधिकार तल दिनपर्‍यो भन्ने हो। यो प्रदेशचाहिँ अन्ततोगत्वा खारेज हुन्छ होला। यो मेरो व्यक्तिगत धारणा हो,’ उनले भनिन्।

विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् ।

प्रकाशित मिति: : 2021-01-01 13:42:00

प्रतिकृया दिनुहोस्