१२ वर्ष विदेशमा बिताए, घर फर्किएर बट्टाई पालनमा रमाए

तेज बोहरा

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालका तेजबहादुर चन्दले व्यावसायिक रूपमै बट्टाई चरा पालन थालेका छन्। ७ वर्ष साउदी अरब र ५ वर्ष अफगानिस्थानमा काम गरेका उनी कोरोना महामारीको बीचमा स्वदेश फर्किएर बट्टाई पालन सुरु गरेका हुन्।

विदेशमा लामो समय दुःख गरेका चन्द स्वदेशमै व्यवसाय गर्ने र घर परिवारसँग बस्ने सोच बनाएका छन्। झण्डै तीन लाख बढी लागतमा बट्टाई पालन सुरु गरेका चन्दले यसलाई व्यावसायिकरूप दिन थालेका हुन्।

पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी २ सय वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ।

चन्द भन्छन्, ‘राम्रो हुँदै गएको छ, केही दिनमै यो व्यवसायलाई विस्तार गर्दै लाने तयारीमा छु, थप पाँच सय चल्लाको चल्ला अट्ने खोर निमार्णको तयारी भइरहेको छ। अहिले दुई सय चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भइसकेको छ।’

लकडाउनको समयमा स्वदेश फर्किएका चन्दलाई बट्टाई पालन सुरु गर्न डिमेघा कैलालीले सञ्चालन गरेको ‘कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक पुनरुत्थान कार्यक्रम’ ले ठूलो सहयोग गरेको सुनाए।

प्रकाशित मिति: : 2020-12-30 14:49:00

प्रतिकृया दिनुहोस्