यो खुच्चिङ गर्ने होइन, खबरदारी गर्ने बेला हो

रातोपाटी

काठमाडौँ

 

फणिन्द्र नेपाल 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि नेपालको राजनीतिमा एकाएक उथलपुथल आएको छ । सत्तारुढ पार्टी विभाजित भएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो नेपालमाथि बढेको छ । दलहरु आन्दोलनमा होमिएका छन् । संसद पुर्नस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । दलहरुको आन्दोलनकोे औचित्य, संसद पुनर्स्थापनाको सम्भावना र यहीबेला चिनियाँ नेतृत्वको नेपाल भ्रमणका बारेमा नेकपा (प्रचण्ड माधव) पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेसँग रातोपाटीले प्रश्न गरेको छ । प्रस्तुत छ पाण्डेसँगको प्रश्नोत्तर :

नेकपाभित्रको विवादले संसद नै विघटन भयो । अहिले तपाईहरु जसरी पनि संसद पुनर्स्थापना गर्नुपर्छ भन्दै आन्दोलनमा हुनुहुन्छ । संसद पुनर्स्थापना हुने आधार के–के देख्नुहुन्छ ?

संविधानमा संसद विघटन गर्ने कुनै व्यवस्था नै छैन । त्यसैले संसद पुनर्स्थापना नगरी सुखै छैन । हैन, कसैको अनुहार हेरेर निर्णय हुने हो भने त अर्कै कुरा हो । त्यसकारण देशलाई सही मार्गमा फर्काउने एउटै मात्रै उपाय भनेको संसदको पुनर्स्थापना नै हो भनेर हामीले भनेका छौँ । संसद पुर्नस्थापना हुनेबित्तिकै राष्ट्रिय राजनीतिमा जहाँ–जहाँ अप्ठ्यारो परेको छ, त्यहाँबाट फर्केर सहज स्थितिमा आउनेछ भन्ने हामीलाई आशा छ । अदालतले पनि संविधानको व्यवस्था, त्यसको प्रावधान र स्प्रिटअनुसार निर्णय गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।

विगतमा संसद नभएको कारणले गर्दा, खासगरी शेरबहादुर देउवाले संसद विघटन गरेपछि, मुुलुकमा अस्थिरता भएर राजाको हातमा शासनसत्ता पुग्यो । त्यो कुरालाई ध्यानमा राखेर संसद भन्ने कुरा नभइ नहुने रहेछ र त्यसले मात्रै जनताको सार्वभौम सत्ताको अधिकारलाई सुरक्षित गर्न सक्ने रहेछ भन्ने बुझेर यो पटकको संविधानमा हामीले विघटन गर्ने या संसद खाली हुने परिकल्पना नै गरेनौँ र त्यो व्यवस्था राखेनौँ । संविधानको स्प्रिट र संविधानका अक्षर-अक्षरले संसद विघटनको कुरालाई मान्दै मान्दैन । यो कुरालाई ध्यानामा राखेर सर्वोच्च अदालतले सही निर्णय गर्छ भन्ने हामीलाई विश्वास छ ।

प्रकाशित मिति: : 2020-12-29 12:55:00

प्रतिकृया दिनुहोस्