ओली नेतृत्वको सरकारले देशको बलात्कार गर्‍याे: डीना

कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले केपी शर्मा ओली नेतृत्वको सरकारले देशको बलात्कार गरेको आरोप लगाएकी छिन्। 

सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सनकको भरमा प्रतिनिधिसभा संसद् विघटन गरेर जनतमतलाई धोका दिएको बताइन्।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई वर्ष पुगिसकेको छ। दिनहुँ बलात्कार र हत्या बढिरहेको छ। सोही अनुपातमा भ्रष्टाचार पनि बढिरहेको छ’, डीनाले भनिन्,‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्साबाट हटाएर देशकै बलात्कार गरेको छ।’ 

सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै उनले सरकारको रबैयाकोविरुद्ध नेपाली जनता सडकमा ओर्लिएको बताइन्।

‘सरकारको रबैया सर्वसत्तावाद उन्मुख छ। त्यसैले रुष्ट जनताहरु सडकमा ओर्लिएका हुन्,’ उनले भने।

पूर्व राज्यमन्त्री समेत रहेकी डीनाले सरकारले संसद विघटन गरेर असंवैधानिक एवम् अलोकतान्त्रिक काम गरेको समेत बताइन्।

‘संसद् विघटन गरेर असंवैधानिक एवम् अलोकतान्त्रिक काम गरेको छ। यसकोविरुद्ध सबै एक हुनु आवश्यक छ,’ उनले भनिन्।

जनताको पालामा नेपालमा राजतन्त्र ढलेको स्मरण गराउँदै अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउनेसमेत उनले चेतावनी दिइन्। 

प्रकाशित मिति: : 2020-12-28 19:45:00

प्रतिकृया दिनुहोस्