शेयरबजारमा सामान्य सुधार, नेप्से फेरि दुई हजार बिन्दुभन्दा माथि

बिएल संवाददाता

काठमाडाै‌ं

सेयर बजारमा सामान्य सुधार भएको छ । नेप्से सूचक २००७.२९ विन्दुमा गएर अडिएको छ । 

पछिल्ला दिनहरुमा बजार आम लगानीकर्ताको अपेक्षाविपरीत घटिरहेको थियो । वित्तीय प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदर अनि ब्रोकर कमिसन घट्दासमेत बजारमाथि जान नसक्दा एक हदसम्म लगानीकर्ता अन्यौलमा परेको अवस्था पनि हो । 

साताको दोस्रो दिन सोमबार नेप्से सूचकमा सामान्य सुधार भएको छ । तथापि, कारोबार रकममा भने अपेक्षा अनुसार विस्तार हुन सकेको छैन । 

लामो समयदेखि बजार माथि जान नसकेपछि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा खरिदबिक्री रकममा माहोल पैदा हुन नसकेको अनुमान छ । यसर्थ, अब विस्तारै कारोबार रकममा पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ । 
 
पुसमा प्रायः सबै कम्पनीहरुले साधारण सभा गरिसक्नेछन् । यतिबेला सूचीकृत कम्पनीहरुले लाभांश र साधारण सभा प्रयोजनका लागि धमाधम बुक क्लोज मिति तोकिरहेका छन् । 

पुस अन्तिमसम्ममा अधिकांशको साधारण सभाको मिति पनि तोकिएको छ । यसर्थ, यतिबेला सेयरधनी बन्नेले तत्काल लाभांशको हकदार बन्ने प्रष्ट छ । 

नेप्से सूचक सोमबार ८.५७ अंकले बढेर २००७.२९ विन्दुमा आइपुगेको छ । २१४ कम्पनीको ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

७४ लाख ९७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ९ समूहको सूचक विस्तार भएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ९७.७९ अंकले वृद्धि भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको छ । कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । 

यसको ३४ करोड रुपैयाँ ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नागरिक लगानी कोष र एनआइसी एसिया बैंक परेका छन् ।
 

प्रकाशित मिति: : 2020-12-28 15:37:00

प्रतिकृया दिनुहोस्