नेकपाको दम्भले मुलुक गम्भीर मोडमाः प्रदेश–३ सांसद दीपेन्द्र श्रेष्ठ (भिडियोसहित)

बिएल संवाददाता

काठमाडाै‌ं
–प्रधानमन्त्रीको कदम असंवैधानिक छ।
– नेकपाले तीन वर्षमा विकाश र समृद्धिको सपना मात्र बाँड्यो।
– उहाँहरूले विधि र नियममा रहेर काम गर्नुभएको भए थुप्रै अवसर थियो।
– सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारमा रुँन पाइदैन भनेको सत्य सावित भयो।
– नेकपाको सरकारले अख्तियार आयोगलाई राज्यको होइन, सरकारको अंग बनायो।
– कांग्रेसको नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ।
– कांग्रेस महाधिवेशन टार्ने काम मात्र भइरहेको छ। 

दीपेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका युवा तथा जुझारू नेता मानिन्छन्। कलेज राजनीतिबाट माझिदै काठमाडौंको महत्वपूर्ण क्षेत्र नम्बर–१ (क) बाट प्रदेश सभा–३ को सांसद निर्वाचित श्रेष्ठ आफ्नो क्षेत्रमा निकै लोकप्रिय छन्। जनताको सानोभन्दा सानो काममा बिहानैदेखि खटिने उनी काठमाडौंको मुटुमा रहेको नयाँ बानेश्वर क्षेत्रमा घर–घरमा चिनिने नाम हो। कान्छो उमेरमा राजनीतिको थुप्रै उतार–चढाव देखिसकेका श्रेष्ठसँग पछिल्लो समय नेपाली राजनीतिमा देखिएको परिघटनालाई लिएर बिएल नेपाली सेवाले छोटो भिडियो अन्तर्वार्ता गरेको थियो। त्यो अन्तर्वार्ताको मुख्य अंश यसप्रकार रहेको छ।

विपक्षी दल नेपाली कांग्रेसको जिम्मेवार सांसद भएको नाताले अहिलेको प्रधानमन्त्रीको कदमलाई कसरी हेर्नुभएको छ?

–उहाँहरूलाई जनताले पाँच वर्षका लागि जुन अभिमत दिएका थिए, अकस्मात रूपमा त्यसलाई गल्हत्याउने काम भयो र असंवैधानिक रूपमा गरिएको यो कार्य निन्दनीय छ। संविधानमा यसरी चुनावको परिकल्पना अथवा चुनाव गर्नसक्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन।

सदनमा उहाँप्रति अविश्वास प्रकट भएर विश्वासको मतका लागि जनमतमा जान लाग्नु भएको पनि होइन। यो उहाँले ‘ब्याकडोर’ बाट आफ्नो गुटगत स्वार्थ र निजी स्वार्थमा आधारित भएर निर्णय गर्न लाग्नुभएको हो। यो पूर्ण रूपमा असंवैधानिक कदम हो। कानुनप्रदत हुँदै होइन।

प्रधानमन्त्रीको कदमलाई लिएर कांग्रेसमा चुनावमा जाने–नजाने विषयमा बहस चलिरहेको छ? तपाईको व्यक्तिगत मत के छ?

– यो एकदमै असंवैधानिक कदम उठाइएको छ। यसको हामीले घोर भत्र्सना गरेका छौं। पार्टीले पनि गरेको छ र गर्नु पनि पर्छ। योे पोल्टो (विवाद) संवैधानिक इजलासमा पुगेको छ। सम्मानित अदालतले गरेको निर्णयलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने अवस्था त छदैछ।

तर मलाई के लाग्छ भने, अहिले जुन अकस्मात संकटपूर्ण अवस्था, विश्व कोरोनाको उच्च जोखिममा भएको अवस्था, पार्टीले अधिवेशनसमेत गर्न नसकेको अवस्था, जनताले स्वास्थ्य उपचारसमेत गर्न नपाएको अवस्था, सहज जीवनयापन गर्न नसकिरहेको अवस्था, यस्तो क्रोनिक अवस्थामा पनि जनताको मनोभावना र अहिलेको विषयवस्तुलाई गलहत्याएर जसरी यो विधि र प्रक्रियालाई मिचेर असंवैधानिक कदम उठाइएको छ, यसको घोर भत्र्सना गर्नुपर्छ।

मेरो व्यक्तिगत र पार्टीको कुरा यसलाई डटेर सामना गर्नुपर्छ। यो म्यानडेटलाई आफ्नो कार्यकाल पुरा गराउनेतर्फ लाग्नुपर्छ। सम्मानित अदालतले गरेको निर्णयलाई आत्मसाथ गर्ने पछिको कुरो त आफ्नो ठाउँमा छदैछ। 

कांग्रेसका लागि अहिले सूवर्ण अवसर होइन? अघिल्लो चुनावमा २३ सिटमा खुम्चिनु परेको थियो?

–यसलाई यसरी बुझनुभन्दा पनि मैले कसरी बुझ्छु भने– यस्तो संकटपूर्ण अवस्थामा जनताले विश्वासका साथ राजनीतिक स्थिरताको निरुपण होस् भन्ने हेतुले झण्डै दुई तिहाईको मत दिनुभएको थियो। तर, त्यो मतलाई गलहत्याएर चुनावमा जाने निर्णय गर्नुभयो, त्यो एकदमै गलत थियो। जहाँसम्म पार्टीगत स्वार्थभन्दा पनि मलाई राष्ट्रिय स्वार्थ महत्वपूर्ण लाग्छ। दुई तिहाई भएको सरकारले जनादेशका लागि जाँदै गर्दा जनता कहाँ जाने कुनै आधार छैन।

किनभने त्यत्रो अभिमत दिएको मान्छेले आफ्नो कार्यकाल त पुरा गर्न सकेन भने जनताले मत दिने आधार नै छैन। यो सरकार गठन भएदेखि नेपाली जनतालाई सुखी र समृद्ध बनाउने भनेर जुन दिवा सपना देखाउने काम भयो, त्यसमा पनि तुसारापात भएको अनुभुति जनताले गरिसकेका छन्। यतिमात्र होइन, यो सरकार पूर्ण रुपले असफल भइसकेको छ। संस्थागत रूपमा भ्रस्टाचार गरेर विवादै विवाद भएको जनताले महसुस गरेका छन्।

जस्तो कि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, बालुवाटार जग्गा प्रकरण, बुढीगण्डकीमा बिना टेण्डर मुनाफाका लागि गरिएको काम, सुन काण्ड र स्वास्थ्य सामाग्री खरिद प्रकरणले गर्दा अहिले नेकपा चुनावमा गयो भने जनताबाट नाङ्गिने अवस्था त झदैछ।

त्यसैले नेपाली कांग्रेसलाई फाइदा हुने कुरा पनि झदैछ। तर पनि राष्ट्रिय स्वार्थलाई हेर्ने हो भने, अहिले जुन संकटपूर्ण अवस्था छ, जनताको जिउधनको रक्षा गर्नुपर्ने, जनताको स्वास्थ्यको सुरक्षा गर्नुपर्ने, जीवनयापन गर्न नसकिरहेको कठिन परिस्थितिलाई मध्यनजर गरेर जनताको जनादेशलाई अवज्ञा नगरिकन आफ्नो कार्यकाल निर्वाह गरेर जनभावना केन्द्रित हुन आवश्यक छ।  

तपाईको पार्टी अध्यक्षले चुनावअगाडि भन्नु भएको थियो, कम्युनिस्ट सरकार आयो भने रुँन पनि पाइदैन। के त्यस्तै भएको हो? 

– हेर्नुस, विश्वको सबैभन्दा शक्तिशाली कम्युनिस्ट सरकारको आगमन नेपालमा भएको थियो। स्वच्छ प्रतिस्पर्धा र विधिको शाषन कायम गराएर उहाँहरू अगाडि बढेको भए काम गर्ने सुवर्ण अवसर थियो। तर, सरकारमा आइसकेपछि उहाँहरूले दुई तिहाईको दम्भमा विधि, प्रकृया र नियमलाई मिचेर निर्दलीयता लाद्ने काम गर्नुभयो। ऐन कानुन बनाउने सन्दर्भमा होस् वा मुलभूत जनताको हकअधिकार बुलन्द गर्ने विषयमा उहाँहरूले विधि प्रक्रियालाई मिच्नुभयो। उहाँहरूले प्रेस स्वतन्त्रतालगायत हरेक क्षेत्रमा यसरी नै जाने प्रयास गर्नुभयो। अहिले पार्टी (नेपाली कांग्रेस) सभापतिले भने जस्तै तपाईले हेर्नुभयो भने सञ्चार माध्यमलाई अंकुस लगाउन खोजिएको छ। विधि प्रकृया चारैतर्फ ध्वस्त बनाइएको अवस्था छ। वास्तवमा भन्ने हो भने अख्तियार आयोगलाई समेत राज्यको अंग होइन, सरकारी अंग बनाइएको छ। आफ्नो पक्षकाहरूको भ्रस्टाचारको फाइल बन्द गराउने, तटस्थ व्यक्ति तथा विपक्षीहरूलाई क्रमशः थुनाउने काम भएको छ। यी सबै कुरालाई हेर्ने हो भने पार्टी सभापतिले भनेको कुरा सिद्ध भएको महसुस गरेको छु।

प्रधानमन्त्रीको अहिलेको कदमले नेपाली कांग्रेसको महाधिवेशनलाई कत्तिको असर पर्छ?

– अहिले यो मुद्धा सम्मानित अदालतमा भएको कारण प्रतिक्षामा बस्नुपर्ने बाध्यतात्मक अवस्था त छदैछ। तर पार्टी सभापतिज्यूले महाधिवेशन तोकिएको समयमा गर्छु भनेर संकल्प लिएर अगाडि बढेको भए वास्तवमा माघ मै सम्भव थियो। अहिले पनि दुई–तीन महिनाको समय पर्याप्त अवधि हो। उहाँले यदी संगठनलाई जिवन्तता दिन अधिवेशन रक्तसञ्चारको माध्यम हो भनेर दत्तचित्त भएर लाग्नुभयो भने त्यो सम्भव छ। तर, त्यो अलि देखिरहेको छुइन मैले। 

महाधिवेशन अगाडि नै धेरै गुट र अध्यक्षको आंकाक्षी देखिए। तपाईको व्यक्तिगत धारणा के छ? 

– मेरो व्यक्तिगत धारणा सोध्नुहुन्छ भने– पार्टीभित्र कुर्बान गरेका आम नेपाली कांग्रेसका आदरणीय व्यक्तिहरूले आफ्नो क्षमताको आधारमा, उमेरको आधारमा, लगानीको आधारमा जिम्मेवारी बहन गर्न खोज्नु जायज कुरा हो। त्यसलाई अन्यथा लिन हुदैन। तर, नेतृत्व परिवर्तन गरेर दोस्रो पुस्तामा जाँदा अझ बढी रक्तसञ्चार पैदा गर्नसकिन्छ जस्तो मलाई लाग्छ। एउटा वैचारिक क्षमता देखाएर मुलुकको अहिलेको जल्दोबल्दो समस्यालाई मुखरित गर्नसक्ने सामथ्र्यवान व्यक्तिको आवश्यकता छ। त्यस्तो व्यक्तित्वलाई आम कार्यकर्ताले छनोट गर्नुपर्छ भन्ने मलाई लाग्छ।    
 

प्रकाशित मिति: : 2020-12-28 08:26:00

प्रतिकृया दिनुहोस्