नारायण खड्का
घोराही उपमहानगरपालिका-१४ नयाँ बजारस्थित सगरमाथा टोल समसाँझमै सुनसान छ। ६६ वर्षीया सितली मगर्नी आफ्नो टहरो (ढ्याब्ली) मा राखेको पसलभित्रै छन्। एउटा बालक आएर केही माग्छन्। तर, ती बालकले मागेको वस्तु उनको पसलमा थिएन।
१९ वर्षदेखि उनी यहीँ टहरोमा बस्दै आएकी छन्। जीवनको सहारा भन्नु नै यही एउटा टहरो हो। योबाहेक उनको आफ्नै भन्ने घर, जग्गा-जमिन केही छैन।
टहरोभित्रै एकसरो ओढ्ने ओछ्याउने कपडा छन्। पकाउने भाँडा यहीँ छन्। छेउमा पानी भरेका बोतल छन्। सितलीको नजिकै कालो बिरोलो बसेको छ। ऊ शान्त छ।
हिजोआज सितलीको सजिव साथी भनेकै यही एउटा बिरोलोमात्र हो। यो कराउँदा उनको न्यास्रो मेटिन्छ। तै जनावर न हो, कहिलेकाहीँ हराउँछ। उनी एक्लै हुन्छिन्। त्यस्तो समयमा सितली रेडियो सुन्छिन्। या मोबाइलबाट गीत सुन्छिन्।
उनको टहरोमा एउटा पुरानो रेडियो झुन्डिएको छ। त्यो रेडियो उनका पति जीतबहादुर घर्तीले झन्डै २२ वर्षअगाडि किनेका थिए।
यसलाई उनले निकै जतनले राखेकी छन्। रेडियोलाई भोटो सिलाइदिएकी छन्। उनका लागि पतिको ‘नासो’ भन्नु नै यही रेडियो हो। रेडियोबाटै सुनेर उनी आफूजस्तै दुःख पाउने अरू पनि रहेछन् भनेर चित्त बुझाउँछिन्।