गुमनाम राष्ट्रिय चाडपर्वलाई सम्झिँदा

डीबी नेपाली

काठमाडौं

नेपालका दमाई जाति सांस्कृतिक सभ्यताका मूलश्रोत हुन्। शिल्पी समुदाय भित्रको दमाई एक प्रमुख जाति हो। तर, नेपालको एकांकी इतिहास लेखनमा दमाई जाति ओझेलमा पारिएका छन्। उनीहरुको वर्तमान जुन इतिहास घोकाइएको, पढाइएको छ, त्यो तथ्य इतिहास हुँदै होइन। सत्यतथ्य बाहिर आएकै छैन। किनकि दमाई जातिको आफ्नै मौलिक भाषा दमु, आफ्नै राजा र राज्य, आफ्नै मौलिक कलासंस्कृति र चाडपर्वसमेत रहेको छ। उनीहरुको मौलिक चाडपर्व र संस्कारको बारेमा यहाँ छोटकरीमा चर्चा गरिनेछ।  

नेपाली बृहत् शब्दकोशले दमाईको अर्थ प्रायः लुगा सिउने र विवfह, व्रतबन्ध, उत्सव, चाडपर्व आदिमा बाजा बजाउने पेशा भएको एक जाति, नगर्चि,दर्जी भनेको छ–पेज ५९७। ढोल शब्दलाई अनार्य शब्द मानिन्छ। पञ्चैबाजा समूहको एउटा प्रमुख बाजा दमाहालाई प्रयोग गर्ने, भिर्ने वा बजाउने दमाही जाति नै शब्द माधुर्य र उच्चारण सौकार्यको निम्ति दमाहीले दमाई रूप लिएको पाइन्छ। दमाई बुझाउने अर्को शब्द ढोली छ। ढोली पश्चिम नेपालमा बढी प्रचलित छ। पूर्वमा भने फाट्टफुट्ट सुनिन्छ मात्र। घरमा ढोल हुने, भिर्ने वा बजाउनेलाई ढोली भनेको हो। 

तथ्यका आधारमा ढोली शब्द दमाई शब्द भन्दा जेठो मानिन्छ। दमाई र ढोली सरहको अर्को शब्द नगर्ची छ। नगरा भनेको दमाहा जस्तै गजाले हानेर बजाउने बाजा हो । तसर्थ, नगर्चीको अर्थ हो नगरा बजाउने अर्थात ढोली वा दमाई । हुड्के बाजा बजाई हुड्केली हाल्दा उनीहरू हुड्के हुन्छन् । दमाउँ, दमाहा, नगरा, भेरी र पञ्चै बाजा बजाउँदा उनीहरू दमाई हुन्छन्। ढोल बजाउँदा ढोली हुन्छन् । अघिपछि सिलाई पेशामा संलग्न भएका सूचिकर वा दर्जी भनिए। मङ्गलधुन बजाउँदा मङ्गले हुन्छन् । 

कुनै शुभ कार्य वा साइतको बेला सगुनी बन्दछन् । देवबाजा नगरा बजाउँदा नगर्ची हुन्छन् । सम्मानसूचक आदरार्थी शब्द प्रयोग गरिदा पनि दमाईहरूलाई नगर्ची नै भनिन्छ । वाद्यवादनका विभिन्न फाँट सम्हाल्दै आएकाले उनीहरूलाई सोही अनुसारको नामले बोलाइयो। यर्थाथमा ती सबै संज्ञाको एउटै नाम र जाति हो दमाई। यिनीहरूले नेपाली सङ्गीत संस्कृतिलाई अनेक दुःख,कष्ट र यातना सहेर पनि परम्परादेखि अक्षुण राखी सम्वर्द्धन र संरक्षण गर्दै आएका छन् ।

उत्पत्तिको गीतदेखि मृत्युको गीतसम्म र रौद्ररसदेखि शान्तरससम्म प्रदान गर्ने दमाई जातिको नेपाली सङ्गीत र संस्कृतिमा अतुलनीय योगदान रहिआएको छ । विकास क्रमलाई हेर्ने हो भने आज पनि यिनीहरू शताब्दीऔं अघिको जीवनयापन गर्न बाध्य छन् । दुल्लुको कोटीस्तम्भको शाके १२७९ को पृथ्वी मल्लको शिलालेखमा ३६ कर माफ गरिएका जातिहरूमध्ये हुड्के (दमाई) पनि रहेको पाइन्छ।

परिश्रमी शिल्पीहरूलाई पृथ्वी मल्लले करमुक्त गरिदिएको कुरा यसबाट पुष्टि हुन्छ। पञ्चैबाजा समूहको भेरी र कर्नाल बाजाबाट भेरी–कर्नाली नामकरण दमाई जातिकै पूर्खाले गरी नदी सभ्यताको विकास गरेको इतिहास पाइन्छ । 

नेपालको कूल जनसंख्याको सन् १९९१ सालको जनगणनाअनुसार दमाई जातिको जनसंख्या ३,६७,९८९ (१.९९%), सन् २००१ (वि.सं.०५८) मा ३९०,३०५ (१.७२%) र सन् २०११ (वि.सं.२०६८) मा ४,७२,८६२ (१.७८%) रहेको देखाइएको छ । देशैभरमा कर्नाली प्रदेशमा सबैभन्दा धेरै जनसंख्या रहेको दमाई जातिको मौलिक चाडपर्वको संक्षिप्त चर्चा गरौं। 

१) प्रमुख चाड भसी

भसी(भुँवो) चाड विशेष गरी दमाई जातिहरूले कार्तिक कृष्ण पक्ष औंसी(लक्ष्मी पूजा, नेवार समुदायको म्हँ पूजा) का दिनको अघिल्लो दिन मनाउने गर्दछन्। आफ्ना दाजुभाई दिदीबहिनी एवं सम्पूर्ण परिवार जम्मा भै दिउँसो खसी, कुखुरा मारकाट गरी र विभिन्न परिकारका साथ मनाउँछन्। बेलुका दियालोको राँको हातमा लिएर ‘भसी’ जगाउन र एउटा काठको किलो जमिन मुनि गाडिन्छ।

भसी जगाउन थाल्ने र दमाई पुरेतद्वारा अभिशेष गरी धामीको घरबाट लगेको आगोले बत्ति बालिन्छ। यसपछि गडोमा ढुंगा देखिंदैं जान्छ र गडो ठूलो हुँदै जान्छ। पछि जति रात बढ्दै जान्छ भसी जति जगायो, त्यति नै यो बढ्दै गएर करीब १०–१२ हातसम्म देखिन्छ। रात घट्दै गएपछि यो ढुंङ्गा पनि घट्दै जान्छ भन्ने जनविश्वास रहेको पाइन्छ । बिहान दाउराको (कोठी) भारीमा सामा लगाउँछन्।

गाउँको मुख्य पुजारीले सामा नउचालेसम्म अरुले उचाल्न सक्दैनन्। र, पुजारीले उचाली सकेपछि मात्रै अरुले उचाल्न सक्छन् । अनि त्यसलाई गाउँमा घुमाएर नजिकको चौतारीमा सेलाउँछन् । यो दमाई जातिको प्रमुख महान चाड हो । यो चाडमा पौराणिक शिल्पी बलीराजाको जपतप, स्तूती, प्रशंसाका साथै विशेष अराधना गरिन्छ। यो चाड गाईतिहार औंशीको दिन सकिन्छ। यसलाई भसी(भुँवो) भन्दछन्। 

२)मौलिक पर्व(भुओ)भूँवो

यो चाड हुड्के(दमाई) जातिले असोज, कार्तिक महिनातिर भव्य रूपमा मनाउने गर्दछन् । यस पर्वमा रातैभरि जाग्राम बसेर वर्षभरिको पीर, व्यथा सबै निर्धक्क साथ बोल्ने र गीतमा गाउने, नाच्ने गरिन्छ। सुर्खेतका नयाँराम नेपालीका अनुसार यो चाँडलाई उनीहरू खड्रात्री पनि भन्ने गर्दछन् । जसलाई सुवास्थ्य, निरोगी र दीर्घजीवनको लागि सांङ्गीतिक, सांस्कृतिक थेरापी चाडको रूपमा पनि लिन सकिन्छ। यसको लागि समाजको नाइके वा मूलीको घरमा पहिला सबै जना जम्मा हुन्छन्। एक अर्कामा मनभरि भएका सबै कुरा भन्ने, सुनाउने पनि गरिन्छ । भसी(भूँवो) खेल्नुअघि वलिराजालाई नाइकेको घरमा बोको, कुभिन्डो काटी पूजा गरिन्छ। 
       
नाइकेको घरको आँगनमा सुँगुरलाई भने विशेष खालको खोर बनाएर राखिन्छ। खोरको वरिपरि राँको, दियालो, ठाडो गरी चारैतिर राखिन्छ । अनि सबै जना जम्मा भएर सुँगुर राखेको खोरको चारैतिर गोलो घेरामा बस्छन्। नाइकेले विशेष पुजा र आराधनापछि सुँगुरको खोरमा आगो लगाउँछन्। जिउँदो सुँगुर आफै जलिरहन्छ। यसलाई जलेर नसकिँदासम्म चलाइँदैन। यसलाई खानु पनि हुदैन। बलिराजालाई खुशी पार्न सिंङ्गै सुँगुर चढाउने चलन रहेको नेपालीले बताए। भुँवोको कोठी(भसोको कोठी) नायक(नाइके)को घरमा जम्मा भई भव्यरूपमा नाचगान, बाजागाजा, अभिनय र खानपिन सहित हुड्के(दमाई) समुदाय भुँवो चाड मनाउने गर्दछन् । 
       
शुरुको राँको नायककै घरमा बालिन्छ। यहि राँकोले नै सुँगुरको खोरमा पनि आगो लगाइन्छ । नयाँ रामका अनुसार भुँवो(भसो) खेल्नुअघि पूर्व तयारी स्वरूप गाइने एउटा मांगल वा शुरुवाती गीत यस्तो छ,–

पहिलो भुँवो कहाँ थियो ?
जुम्ला थियो ।
त्यहाँबाट भुँवो कहाँ आयो ?
गेला(कालिकोट) आयो ।
गेलाबाट भुँवो कहाँ आयो ?
सल्लीका टुप्पो आयो ।
सल्लीका टुप्पोबाट भुँवो कहाँ आयो ?
सल्लीको पातमा आयो ।
सल्लीको पातबाट भुँवो कहाँ आयो ?
सल्लीको फेदमा आयो । 
त्यहाँबाट राँको आयो ।
त्यहाँबाट बलिराजा खुशी भए । 
त्यहाँबाट बलिराजको आदेश भयो । 
त्यसपछि भुँवो शुरु भयो । 
त्यस पछि बलिराजा खुशी भए । 

       
यसरी नाइकेले भुँवो भट्याउँछ। यसपछि रातभरिको भुँवो खेलको औपचारिक रूपमा शुरु गरिन्छ। यसपछि सबैजनाले खानपिन, भोजन, नाचगान, रमाइलो र हर्षोल्लासका साथ भुँवो पर्वलाई हुड्के(दमाई) जातिले धुमधामसँग मनाउने गर्दछन् । 

३)भूँवो खेल 

दमाई जातिबाहेक अन्य समुदायहरूले पनि मनोरञ्जनको लागि भूँवो खेलेको पाइन्छ। कर्नाली प्रदेशका हुम्ला र मुगु जिल्लामा हरेक वर्ष पौष कृष्णपक्षको औंसीको राती यहाँका गाँउलेहरू एक ठाउँमा भेला भई भूँवो खेल्ने गर्दछन् । जुम्ला, डोल्पा र कालीकोट जिल्लातिर यस पौष औंसीको भोलिपल्ट(पौष शुक्ल प्रतिपदा)देखि ३/४ दिनसम्म भूँवो (भुओ)को सट्टा भैलो खेल्ने चलन छ।

दमाई, कामी, सार्की, बादी, कुलोलाहरूमध्ये किशोरकिशोरी र प्रौढहरूले पनि यो भूँवो खेल्ने गर्दछन्। अरु बाहुन, क्षेत्री र ठकुरीका बालबालिका, किशोर–किशोरीहरूले भैलो खेल्ने गर्दछन्। यसबाट ठाउँ र परिवेशअनुसार भूँवो पनि फरक–फरक हुँदोरहेछ भन्ने कुरा स्पष्ट हुन्छ। 
       
तर, माथि उल्लेख गरिएको नयाँराम नेपालीका अनुसार भूँवो (भुओ)को उत्पत्ति नै जुम्लाबाट भएको पाइन्छ। किनकि भूँवो (भुओ) खेल र चाड बलिराजसँग सम्बन्धित रहेको छ। इतिहास अनुसार आफ्नो शासनकालमा बलिराजा धेरै समय जुम्लामा बसेका छन् । यसकारण नयाँराम नेपालीका अनुसार भूँवो (भुओ)को उत्पत्ति जुम्लाबाट भएको भन्ने सन्दर्भ मिल्न जान्छ । नयाँराम नेपाली भन्नुहुन्छ– ‘अत्यन्तै बलिया, पराक्रमी र साहसी भएकै कारणले बलिराजालाई बलिराज भनिएको हो।’ नेपालीका अनुसार बलिराजा हाम्रै पौराणिककालका शिल्पी(दलित) पूर्खा हुन्।
       
नेपालीको यो दाबीमा सत्यता पनि रहेको छ। बलिराजाको १४५७ सालको अभिलेखमा राजधानीको रूपमा ‘जुम्लास्थाने सुवर्णहारनाम नगरे’ अर्थात जुम्ला तातोपानी नजिक सुनारगाँउको उल्लेख आएको छ। १४६१ साल मार्ग सुदि १४ आइतबारका दिन स्वर्णग्राम (सुनार गाँउ)मा बलिराजाका राज्याभिषेक सम्पन्न भएको थियो। खस साम्राज्यको पुरानो राजधानी सिंजा लामाथाडा थियो। बलिराजाले जुम्ला तातोपानी नजिकै सुनारगाँउलाई आफ्नो राजधानी बनाएका थिए।

विभिन्न लडाइँमा हरिचन्द्र तिरुवाले फत्ते गरेकोले साइराजले उनलाई बुढाकोट दिलाइदिएको देखिन्छ। त्यहाँदेखि बुढाकोटलाई तिरुवाकोट नामकरण गरिएको हो। त्यस्तै चाचुन तिरुवाले राजकाजमा सहयोग पुर्‍याएकोले सो रिझ बापत उनलाई विवोषराज र साइराजबाट ‘हातमा छडी शिरमा पगरी’ को सम्मान सहित जागिर दिएको देखिन्छ। यसरी बलिराजाले खस साम्राज्यको राजधानी सिंजाबाट सारेर जुम्ला तातोपानी नजिकै रहेको सुनार(सुवर्ण) गाउँमा भव्यरूपमा राज्याभिषेक गरेका थिए।

उनका प्रमुख सेनापति चैतुवा कठाइत थिए। सहायक सेनापति पुरिचन्द्र(कामी)तिरुवा थिए। बलिराजाले आफ्नो राज्याभिषेकको लागि कामी गाउँ नै किन रोजे? भन्ने विषय विचारणीय छ। तर, इतिहासबाट के प्रमाणित भएको छ भने बलिराजालाई राजा बनाउनमा सहायक सेनापति पुरिचन्द्र (कामी)तिरुवाको प्रमुख देन थियो। उनी बलवान, साहसी, लडाकु र वीर(पैकेलो)योद्धा थिए। तसर्थ, धेरै राजा रजौटाहरूलाई बलिराजाको अधीनमा ल्याउनको लागि तिरुवाले नै नेतृत्वदायी भूमिका खेलका थिए।

भुँवो खेल्ने क्रममा दोहोरी खेले जस्तै समूह–समूमा पनि खेल्ने गरिन्छ । देवरभाउजुको भुँवो खेलको एक गीत यस्तो छः–

देवरः ए लाला बउजु (भाउजु) भसी खेल्न आओ, 
बली राजा खुशी हुन्छन् । 

बउजुः ए मेरा लाला म आउन्न, 
तेरा साथ । 

४) मष्टो पूजा

दमाई जातिको प्रमुख चाड मष्टो पूजा पनि रहेको छ। यो चाड जेठको पूर्णिमाका दिन गर्ने गर्दछन् । यसमा धामीले देउताबसी आफ्नो विघ्नबाधा, दुःख आदिको विषयमा के हुन्छ? कसो हुन्छ? बकी अध्ययन गरी जवाफ दिने गर्दछन् । यस पूजामा रोटी, खीर, जाँड, रक्सीका साथै पूजाको सामाग्री तयार गरेको हुन्छ । यस पूजाको लागि पूजारी र धामी–दमाई जातिकै पुरुष रहने गर्दछन् । यस पूजाको लागि हुड्के (दमाई) जातिको पुरानो थलो दैलेखको पुरानो खाडी गैया गाविस वडा नं–३ दबडामा एक घर छ। सो घरमा पूजा गरिन्छ । 

५) पितृमातृ(पितर) क्षमा पूजा

पितर पूजा दमाई जातिको पितृमातृ क्षमा पूजाको रुपमा रहेको बुझिन्छ। यो पूजा विशेष गरी वैशाखी, न्वागी मंसिरमा धान न्वागीका दिन मनाउँदछन्। आफ्नो आमाबाबु मरेको एक वर्षपछि तिनीहरुको संझनामा एक रुखको छहारीमा बसी पितृ पूजा गर्दछन्। बाबुको पितृ पूजा भए कुखुराको भाले र आमाको मातृ पूजा भए पोथी कुखुरा काटी भोग चढाउँछन्।

पितृ पूजामा रोटी, मासु, जाँड, रक्सी आदि चढाउँछन्। आफ्ना माता, पिता पितृसँग आफ्नो घरको अन्नपानीको सह राखी देउ, भण्डारमा बसी देउ, वस्तुभाउ, आफू र आफ्ना परिवारजनमा आपत विपद् नपार, क्षमा गर, रक्षा गर भन्ने कामना साथै विन्ती, प्रार्थना गर्दछन्। 
       
जसलाई उनीहरु पितृमातृ क्षमा पूजा भन्ने गर्दछन् । पूजा विधिपूर्वक सकिएपछि प्रसाद घरका सबै परिवारले बाँडीचुँडी खाने गर्दछन् ।

६) विशेष जन्म संस्कार

कर्नाली प्रदेशका दमाई जातिमा जन्म संस्कारसमेत मौलिक रहेको पाइन्छ। बच्चा जन्मेको दिन दाजुभाई जम्मा भएर घमारी खेल्छन्। १५–२० जना भएर दायाँ, बायाँ दमाहा, मुजुराको साथमा नाच्दै, गाउँदै, बजाउँदै घुमी–घुमी घमारी खेल्ने गर्दछन्। छैटौं दिनको दिन खसी काट्ने, रोटी, पुरी, फलफुल, जाँड, रक्सी आदि परिकार तयार गरी छैटी गर्ने गर्दछन्।

प्रथम दिन घमारी बस्ने र हेर्ने अन्य सबैलाई खुशियालीमा ख्वाउने काम गर्दछन् । यसै दिन बच्चाको छैटी हेर्ने र नाम राख्ने काम गर्दछन्। यस दिन पनि हर्षोल्लासपूर्वक घमारी खेल्छन्। बिहान घरमा खसी काट्छन् र घमारी खेल्नेलाई एउटा छुट्टै खसी दिने परम्परा पनि छ। 
       
११औं दिनको दिन दिदी, बहिनीहरु माइतमा एउटा खसी लिएर आउँछन्। ११ औं दिनको दिन  बच्चालाई घर बाहिर ल्याइ घाम झुल्किने पूर्वतर्फ फर्काइ भूमि र भगवानको पूजा अर्चना गर्ने गर्दछन् । बच्चाको बाजे, बजै (हजुरआमा, हजुरबा) भए उनीहरुले बच्चा तथा आमालाई टिका लगाई आशिर्वाद तथा दीर्घायूको कामना गर्दछन्।

यसलाई उनीहरु आफ्नो भाषामा ‘दुवारो’ भन्दछन्। बाजे बजै नभए बच्चाका आमा बावुले नै टिका लगाइदिन्छन्। आमालाई बच्चाका बावु आमाले एउटा खसी दिन्छन्। साथै, गुन्युचोलो लगायत कपडा पनि दिन्छन् । 
         
यसका साथै आफ्नै जातको पुरेतलाई आमन्त्रण गरेर न्वारन गर्ने परम्परा पनि रही आएको छ। सुत्केरी ११ औं दिनसम्म बार्ने चलन छ। सुत्केरीलाई सकेसम्म पोषिलो दाल, भात, तरकारी, मासु खान दिने र तोरीको तेल शरीरमा र बच्चालाई लगाइ दिने गरिन्छ।

न्वारनको दिनदेखि काठेभोटो लगाउन दिने गर्दछन्। बच्चा जन्मिएको खुशियालीमा खसी काट्ने, भोज गर्ने परम्परा भए पनि हिजोआज गरिबीको कारणले छोड्दै आएका छन्। नेपाली मौलिक चाडपर्व, संस्कृतिका धरोहर दमाई जाति  आज ओझेल परिरहेको छन्।

प्रभाव, प्रभुत्व र वर्चश्वशाली जातीय प्रथाको सुनामी भूँमरीले इतिहासमै विलिन भैरहेका छन्। यसको संरक्षण गर्नु सम्बन्धित समुदाय र सरकारको प्रमुख दायित्व हो ।
 

प्रकाशित मिति: : 2020-12-26 12:22:00

प्रतिकृया दिनुहोस्

    Atti ramro lakhan lagyo thanks sir

    • 3 बर्ष अगाडि
    • Samindra pariyar

    Sunna pauda bado khishi lagyo

    • 3 बर्ष अगाडि
    • sudan pariyar

    Yo sabko jagerna haami aafai garnu garnu parchha sarkarle gardaina

    • 3 बर्ष अगाडि
    • Roma pariyar

    Thanks for this important article,

    • 3 बर्ष अगाडि
    • Santosh Darji