अन्तिम चरणका गौरवका आयोजनामा संसद विघटनको मार

अनलाइनखबर

काठमाडाैं

७ पुस, काठमाडौं । संसद विघटनसहितको पछिल्लो राजनीतिक घटनाक्रमका कारण आइतबार ७ जना मन्त्रीले सामूहिक राजीनामा दिए । योसँगै विकासे मन्त्रालयहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयहरु नेतृत्वविहीन भएका छन् ।

यी त्यस्ता महत्वपूर्ण मन्त्रालयहरु हुन्, जो निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनासँग प्रत्यक्ष जोडिन्छन् । अन्य चार मन्त्रीसँगै ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने विषय अन्योलमा परेको छ । मन्त्रीहरु हटेपछि ‘गेम चेन्जर’ भनिएका आयोजनाहरु झन् पछि धकेलिने अवस्था बनेको छ ।

कोरोना महामारीको कारण देखाएर तोकिएको सयममा पूरा हुन नसकेका यी आयोजनाका अधिकारीहरुलाई अब म्याद थप्न धेरै पापड बेल्नुनपर्ने अवस्था आएको सम्बन्धित मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

चिनियाँ ठेकेदारहरु कार्यरत यी तीनवटै आयोजना गत फागुनदेखि नै कोरोनाबाट प्रभावित थिए । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, आउनुपर्ने प्राविधिक उतै रोकिएका थिए । अवस्था सहज बनेर विस्तारै निर्माणको काम अघि बढ्दै गर्दा यी आयोजनामा राजनीतिक संक्रमणको प्रभाव देखिने अवस्था आएको छ ।

काम सक्नेभन्दा विभिन्न बहनामा म्याद थप्ने अभ्यास विगतबाटै हुँदै आएको छ । यस्ता आयोजना बुझेका मन्त्रीहरुको राजीनामासँगै निर्माण सकिने मिति पछाडि धकेल्न सहज अवस्था बनिदिएको छ ।

प्रकाशित मिति: : 2020-12-22 10:46:00

प्रतिकृया दिनुहोस्