रावलकाे व्यङ्ग्य: खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दा व्यङ्ग्य गर्नेलाई जवाफ दिएका छन्।

पछिल्लो साता निरन्तर राष्ट्रपति कार्यालय शीतलनिवासतिर धाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान एकाएक प्रचण्ड निवास खुमलटार पुगेका थिए। उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।

सोही विषयलाई उनले ट्वीटरमा भनेका छन्,‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’ 

प्रधानमन्त्री ओली ११ बजेर केही मिनेटमा खुमलटार पुगेका थिए। त्यसको १५ मिनेटपछि उपाध्यक्ष गौतम पुगेका थिए । तीन नेतावीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रचण्डले सचिवालयमा दर्ता गरेको र हाल स्थायी कमिटीमा पुगेको लाञ्छनापत्र फिर्ता नहुँदासम्म बैठकमा समेत सहभागी नहुने बताउँदै आएका प्रधानमन्त्री ओलीले यसरी प्रचण्डको निवासमै पुगेर सम्वादको थालनी गर्नुलाई उनले राम्रो भएको बताए।

‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ’, उनले भनेका छन्।

पछिल्लो समय नेकपामा अध्यादेशको विषयलाई लिएर विवाद चुलिँदै गएको छ। अध्यक्षद्वय आफ्नाे शक्ति देखाउनमा लागि परेका छन्। बालुवाटार फर्किँदा प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवासमा पसेका थिए। 

उनी प्रचण्ड निकटतम मानिने गरिन्छ। यद्यपी बालुवाटार स्राेतले भने कुनै छलफल गर्न नगएकाे र बाटामा परेको हुनाले प्रधानमन्त्री ओली पसेकाे जानकारी दिएकाे छ। 

प्रकाशित मिति: : 2020-12-19 15:37:00

प्रतिकृया दिनुहोस्