जसले नेपाली खानालाई विश्वमा चिनाए

बाह्रखरी

काठमाडौं

काठमाडौं ।  ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपाली सेफ सन्तोष साह शीर्ष तीनमै सीमित भए । अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।

उत्कृष्ट तीनसम्म पुगेका सन्तोषले प्रतियोगिताको ‘टाइटल’ त जितेनन् । तर, निर्णायकदेखि नेपालीहरुको मन भने जितेका छन् । 

“यी परिकारहरु मेरो आमाको प्रेरणाबाट बनाएको हो । मेरी आमा मेरो मनमा हुनुहुन्छ,” उनले शीर्ष चारको प्रतिस्पर्धामा भनेका थिए, “म १२ वर्षको हुँदा कुलो बनाउने काम गर्दा मेरी आमा मलाई मन पर्ने खाना लिएर आउनुहुन्थ्यो ।”

उनले सेफले लगाउने टोपीको सट्टा नेपालीपन झल्काउने कालो भादगाउले टोपी लगाएका थिए । खानाका परिकार बनाउँदै आफूले सानै उमेरमा भोग्नु परेको दुःखका सम्झनाहरु सुनाएका थिए । माहोल नै छुट्टै बनाएका थिए । उनले उक्त कार्यक्रममा नेपाली खानामात्र हैन, नेपाली मनको भावनासमेत पस्किए ।

साहको कुरा सुनेर निर्णयकहरुले उनको प्रशंसामात्र गरेनन्, उनले बनाएको परिकारहरु आफूहरुले चाहेर पनि त्यस्तै स्वादमा बनाउन नसक्ने जनाएका थिए ।

“मेरो जीवनमा धेरै मानिस जोडिएका छन्,” निर्णयकहरुसँग उनले भनेका थिए, “मेरो जीवनको सबै सफलताहरु आमालाई नै समर्पण गर्न चाहन्छु ।”

सानै उमेरमा बाबु गुमाए । दाजुहरु सन्तोष सानै छँदा आ–आफ्नो बाटो लागे । सानो उमेरमा नै धेरै दुःखको पहाड चढेका साह भन्छन्, “आफ्नाहरु नै बाटो लागेपछि आमाको मात्र आड–भरोसाले के नै पो गर्न सकिने रहेछ र ?”

सानै उमेरमा बाबु गुमाएका साहले आर्थिक अभावकै कारण होटलमा भाँडा माझ्ने कामदेखि गाउँमा नै पोलिथिन र पाउरोटी बेचेर अध्ययन गरे । उनलाई पढाइमा मन त थियो । तर, एसएलसीको नतिजा उनले सोचेको जस्तो भएन । उनी तीन विषयमा फेल भए । राम्रो पढौँला, जीवनमा केही उन्नति गरौँला भनेर सोचेका साहलाई चाहनाले भन्दा बाध्यताले पिरोल्यो र १५ वर्षकै उमेरमा भारत पसे ।

“म गाउँकै साथीहरुको पछि लागेर भारतको गुजरात पुगेँ,” राम्रो पढाइ नभएको कारण सोचेजस्तो काम नपाएको सुनाउँदै साह थप्छन्, “खान दिने र मासिक ९०० सय भारु दिन्छ भनेपछि म होटलमा भाँडा माझ्न र सरसफाइमा लागेँ ।”

प्रकाशित मिति: : 2020-12-18 17:37:00

प्रतिकृया दिनुहोस्