गरिबका छोरालाई पाइलट बनाउने नगरपालिका

नारायण खड्का

२६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीले एकै दिन विमान उडाउने नेपाली लाइसेन्स प्राप्त गरे। मंसिर २९ गते अन्तिम परीक्षा दिएका उनीहरूको नतिजा सोही दिन नै प्रकाशित भयो। 

दुवै लकडाउनको समयताकै फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर स्वदेश फर्केका हुन्।

उताको कोर्ष पूरा गरे पनि यहाँका विमान उडाउन नेपाली लाइसेन्स नभई हुन्न। लकडाउनले गर्दा नेपालमा लाइसेन्स खुल्न ढिला भयो। तै केही, ढिलै भए पनि खुल्यो र उनीहरू दुवै उत्तीर्ण भए।

आधिकारिक रुपमा नेपाली विमान चलाउने लाइसेन्स प्राप्त गरेपछि दुवैसँग खुसीको सीमा छैन। आफन्त, साथीभाइ र शुभचिन्तकको बधाइ थाप्न भ्याइनभ्याइ छ। 

दुबै जना रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका स्थानीय हुन्। केसीको घर आठबिसकोट-१० घारीखोला र भण्डारीको घर वडा नं. ५ गोतामकोटमा छ।

नेपालको विकट जिल्ला रुकुमपश्चिमको आठबिसकोट डोल्पा जिल्लाको सिमाना हो।

दुवैलाई आठबिसकोटले लगानी गरेर पाइलट बनाएको हो। दुई वर्ष पहिले केसी र भण्डारीलाई ५०-५० लाख लगानी गरेर आठबिसकोटले नै उनीहरूलाई अध्यनका लागि फिलिपिन्स पठाएको थियो। पाइलट भएर कमाउन थालेपछि मात्रै किस्तामा पैसा फिर्ता गर्ने सर्त छ।

‘हालसम्म हामीले एक रुपैयाँ पनि ब्याज बुझाउनु परेको छैन,’ केसीले भने, ‘जब हामीले काम सुरू गर्छौं, कमाउन थाल्छौं अनि मात्रै हाम्रो किस्ता सुरू हुन्छ।’

प्रकाशित मिति: : 2020-12-17 11:52:00

प्रतिकृया दिनुहोस्