नेपालले मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ।

कोरोना माहामारीको कारण स्थगित भएको आइसीसी क्रिकेट विश्वकप लिग-२ को तालिका अनुसार नेपालले ओमान र अमेरिकासँग सिरिज खेल्न लागेको हो। 

आइसीसीका अनुसार रोकिएको खेल मार्च १९ देखि २८ सम्म ओमानमा हुनेछ। यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा ओमान र युएईसँग खेल्ने छ। 

नेपाल सन् २०२२ को जुलाईमा अमेरिकाको भ्रमणमा निस्कने छ। नेपालले त्यहाँ अमेरिका र ओमानको सामना गर्नेछ। सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पपुवा न्यूगिनीमा नेपालले खेल्नेछ।

सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डसँग खेल्ने छ।  लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा, पपुवा न्यूगिनी र युएईसँग खेल्दै लिग सकाउने छ। 

लिग २ का २१ त्रिदेशीय एकदिवसीय सिरिज पश्चात शीर्ष ३ राष्ट्रले आइसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन्। पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसँग विश्वकप छनोटको प्लेअफ खेल्नु पर्नेछ।

बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन्। उक्त प्लेअफमा लिग–२ बाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ। विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउनेछन्। नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो।

उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो। नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ। नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ।

लिग दुईमा हालसम्म ओमान शीर्षस्थानमा छ। ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ। लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ। उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ। यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ।

नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ। युएई सात खेलमा तीनमा जित तथा तीनमा हार व्यहोर्दै लिगको पाँचौँ स्थानमा छ। नेपाल चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कविहीन अवस्थामा छ।

प्रकाशित मिति: : 2020-12-16 13:10:00

प्रतिकृया दिनुहोस्