प्रधानमन्त्रीले राजीनामा मागेपछि देव गुरुङमाथि नैतिक प्रश्न

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन्।

आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री ओलीले उनीसँग राजीनामा माग गरेका हुन्। 

स्रोतका अनुसार २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए।

‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र, आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको भन्दै तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुहोस् भन्नुभयो,’ बालुवाटार निकट स्रोतले बिएल नेपाली सेवासँग भन्यो।

जवाफमा गुरुङले आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफ फर्काएकाे स्रोतले बतायो।

‘यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गर्नु भयो। उहाँले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाे बताउनु भयो,’ स्रोतले भन्यो। 

यता बिएल नेपाली सेवासँगको कुरा गर्दै गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाविक भएको बताए। 

‘मैले पार्टीका अन्तरिक नीति र शिद्धान्तका बिषय बाहेक सार्वजनिक रुपमा टिप्पणी गर्ने गरेको छैन। प्रधानमन्त्रीले राजीनामा मागेको विषय पनि पार्टी कमिटिमा मात्रै बताउछु,’ उनले भने। 

संसदीय दलको नेतासँग शैद्धान्तिकरुपमा सहमति नभएपछि सचेतको रुपमा बसिरहनु हुन्छ त? भनेर बिएल नेपालीले सोधेको प्रश्नमा उनले भने,‘   त्यो पार्टीमा छलफलको बिषय हो। यसमा साथीहरुसँग छलफल गरेपछि मात्रै निक्यौलमा पुग्छु।’

स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन्। तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन्।
 

प्रकाशित मिति: : 2020-12-15 14:33:00

प्रतिकृया दिनुहोस्