शेयरबजार लयमा फर्किने कोशिश, साताको अन्तिम दिन नेप्सेसूचक ८.२७ अंकले बढेर बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारले विस्तारै लयमा फर्किने कोशिश गरेको छ। नेप्से सूचक ८.२७ अंकले बढेर १९६४.०२ विन्दुमा आएर अडिएको छ। विस्तारै बजारले सम्हालिने प्रयास गरिरहेको विश्लेषकहरु बताउँछन्। २०४ कम्पनीको ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

इतिहासमै धेरै एकैदिन १२३ अंक घटेपछि लगानीकर्ता केही त्रसित भएका हुन्। यसरी भारी अंकले घटेपछि लगानीकर्ताको मनोबल केही खस्किएको थियो। सोही कारण खरिदबिक्री रकममा पनि गिरावट आइरहेको छ। 

यसरी गिरेको मनोबल सुधार हुन केही दिन लाग्ने गर्दछ। बुलिस प्रवृत्ति भएकाले बजारले छोटो समयमा फेरि सकारात्मक लय समाउने विश्लेषणहरु भइरहेका छन्। क्रमशः अग्रगामी गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ। 
 
९८ लाख ८३ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएका छन्। विकास बैंक र हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन्। बिमा, उत्पादनमूलक तथा व्यापारिक लगायतका समूहहरुमा बढी तेजी देखिएको छ। यस दिन लिबर्टी इनर्जी र नारायाणी डेभलपमेन्ट बैंकको शेयर भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ।

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसको ३७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा ग्लोबल आइएमई संस्थापक शेयर परेका छन्। यसदिन सबैभन्दा धेरै गुमाउनेमा अपर तामाकोशीका लगानीकर्ता रहेका छन्। यसको सर्किट लाग्ने गरी घटेको हो।
 

प्रकाशित मिति: : 2020-12-10 15:22:00

प्रतिकृया दिनुहोस्