खाली विद्यालय भवनमा कोभिड अस्पताल

सांकेतिक तस्बिर

खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ। 

काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल  तयार गरिएको हो।
 
विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाँभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए। 

भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाभिएपछि भवन खाली थियो। 'अस्थायी अस्पताल बनाउन अन्य भवन थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं', उनले भने, 'कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ।'

 पहिले क्वारेन्टाइन बनाइएको भवनमा श्ययाका लागि आवश्यक पूर्वाधार निर्माण गरेर अस्पतालका रुपमा विकास गरिएको हो। अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ। दुईजना स्टार्फ नर्स करार सेवाका परिचालन भएका छन् भने एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन्।

'अस्थायी भए पनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ' प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, 'मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ।' अस्पतालको अनुगमन गाउँपालिकाले गर्ने तथा आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए। 

गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि रु १० लाख उपलब्ध गराएको थियो। रु पाँच लाख कर्मचारीको व्यवस्थापन र बाँकी रु पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ। 

'सरकारले पाँच श्ययाको अस्पताल बनाउन भनेको थियो, हामीले दश श्ययाको बनायौँ', अध्यक्ष थापाले भने, 'सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारको आधारमा श्यया बढाइएको हो।' गाउँपालिकाले चिकित्सकका लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ।

काठेखोलामा हालसम्म ७८  सङ्क्रमितमध्ये ७४ जना निको भइसकेका छन्। अस्थायी अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन्। 

अस्पतालमा रहेका सङ्क्रमितलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिइएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ। 

अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ। भेण्टिलेटर र सघन उपचार कक्षका आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइने छ। रासस 

प्रकाशित मिति: : 2020-12-04 11:42:00

प्रतिकृया दिनुहोस्