नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण: गृहकार्य भइरहेको छ

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय गर्ने गृहकार्य भइरहेको जानकारी दिएका छन्।

भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘अहिले मिति तय गर्ने गृहकार्य भइरहेको छ।’ 

उनका अनुसार ज्ञवालीलाई नेपाल भारत संयुक्त आयोगको बैठक अध्यक्षता गर्न निम्त्याइएकाे हाे।

‘नेपाल भ्रमणमा गएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेपालका परराष्ट्रमन्त्रीलाई विदेशमन्त्रीको संयुक्त आयोगको बैठकको अध्यक्षता गर्नका लागि निमन्त्रणा गर्नु भएको छ,’ श्रीवास्तवले भने।

नेपाल भारत संयुक्त आयोगको बैठक नेपाल र भारतमा आलोपालो हुने गरेको छ।

यसपटक बैठकको आयोजना गर्ने पालो भारतको हो।

मन्त्री ज्ञवालीले डिसेम्बरको दोस्रो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ।

यस्तै चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको उनले बताए।

‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ। यो द्विपक्षीय विषय हो,’ प्रवक्ता श्रीवास्तवले भने।

चीनका रक्षामन्त्री वेइ आइतबार एक दिने भ्रमणको क्रममा नेपाल आएका थिए। नेपालपछि उनले पाकिस्तानको पनि भ्रमण गरेका छन्।

 

प्रकाशित मिति: : 2020-12-03 19:15:00

प्रतिकृया दिनुहोस्