प्रधानमन्त्री केपी शर्मा ओलीले अनुकुल समय नमिलेकाले भारत भ्रमणमा जान नपाएको दाबी गर्दै समयले साथ दिए छिट्टै जाने बताएका छन्।
शनिबार थाइल्याण्डको भ्रमणबाट स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विविध कारणले भारत भ्रमण हुन नसकेपनि असम्भव भने नरहेको दाबी गरेका हुन्।
‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ, त्यही भएर मात्रै हो। यो बाहिर भारत भ्रमण अबरुद्ध भयो भनिएको छ, त्यो होइन, काँडेतार लगाएको छ र कसैले? त्यस्तो हुँदै होइन। त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ। हामी अलिकति व्यस्तै छौं, सगरमाथा संवाद लगायतका विषयले। हामीले भ्याउँछौं भनेदेखि भने सगरमाथा सम्वाद अगाडि हुन पनि सक्छ।’
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने पनि जानकारी गराएका छन्। उनले समयले साथ दिए सगरमाथा संवादअघि नै आफ्नो भारत भ्रमण हुने दाबी गरे।
पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो। यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ। युरोपमा कार्यक्रमहरू तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन। तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ।’
उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए। उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरूलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए।
उनले भने, ‘दुई प्रधानमन्त्रीका बिचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरूको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरूका सन्दर्भमा र पञ्चेश्वरलगायतका विषयहरू दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरूमा कुरा भयो। दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरू भए। हामीले एउटा अठोट गरेका छौं। नेपाल-भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरूलाई टुंग्याईहाल्ने जस्ता कुराहरूका बारेमा गहिरो समझदारी गरेका छौं। भेटघाट फलदायी भएको छ।’