चिनियाँ रक्षामन्त्री र गृहमन्त्री बादलकाे ‘कुहिनो मिलाप’ (तस्वीर)

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे त्रिभुवन विमानस्थलमा ओर्लिएका छन्। 

आइतबार बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमार्फत २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल फेङहे नेपाल आइपुगेका हुन्।

उनलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए। 

फेङहेको स्वागतमा गृहमन्त्री थापाले पुष्पगुच्छा दिएका थिए। कोरोना भाइरस आउनुअघि स्वागत गर्दा हात मिलाउने चलन थियो। तर हात मिलाउन नमिल्ने भएपछि चिनियाँ रक्षामन्त्री फेङहे र गृहमन्त्री थापाले कुहिनो मिलाएका थिए। 

हातमा कोरोनाभाइरसका जीवाणु हुन सक्ने भन्दै  एउटाको हातमा जीवाणु भए अर्कोमा नसरून् भनेर संसारका अरू नेताहरूले पनि यही शैलीलाई अपनाएको देखिन्छ। 

गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागत गरेपछि फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’  कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री फेङहेले  राष्ट्रपति विद्यादेवी भण्डारी  र  रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ स्वदेश फर्कने छन्। 

प्रकाशित मिति: : 2020-11-29 13:35:00

प्रतिकृया दिनुहोस्