किन समाजको कथा बोल्न सक्दैन मैथिली सिनेमाले?

कोरोनाकालिन समयलाई छोडिदिने हो भने केही समययता मैथिली चलचित्र निर्माणप्रति आकर्षण बढेको पाइन्छ। निर्माणप्रति आकर्षण बढेसँगै मैथिली चलचित्र निर्माणमा पनि बाढी आउने नै भयो। मैथिली चलचित्र निर्माणमा आएको बाढीसँगै यसको आकार, आयाम र क्षितिजमा पनि बढोत्तरी भएको छ। 

मैथिली चलचित्रको परिधी फराकिलो भए पनि दुःखका साथ भन्नु पर्दा समाजको मौलिकतालाई यसले भोजपुरी सिनेमाको भद्दा नक्कलसँग साटेको छ। 

यस बिषयमा मन्थन अपरिहार्य बनिसकेको छ। किनभने सिनेमा ‘मास मिडिया’ हो र साहित्यको सबै बिदा यसमा निहित हुन्छ। यो मानव समाजको ऐना पनि हो।

मैथिली सिनेमाको इतिहास

मैथिली चलचित्रको इतिहासलाई खोतल्ने हो भने सन् १९६५ मा भारतमा पहिलो मैथिली कथानक चलचित्रको निर्माण भएको पाइन्छ। फनी मजुमदारद्वारा निर्देशित सो चलचित्र हरिमोहन झाको प्रसिद्ध उपन्यास कन्यादानमा आधारित थियो।

यस चलचित्रमा केही अंश मात्र मैथिली भाषाको प्रयोग भएकोले यसलाई सम्पूर्ण मैथिली चलचित्र मान्न सकिँदैन। यसको कथावस्तुअनुसार नायिकाले मैथिलीबाहेक अन्य भाषा नजान्ने भएकोले नायकले पनि मैथिली सिक्छन्। यसअर्थमा चलचित्रमा मैथिली भाषाको आंशिक प्रयोग भएको हो। 
मैथिली सिनेमाका चर्चित कलाकार तथा चलचित्रका खोजकर्ता कमल मण्डलका अनुसार मैथली चलचित्र ‘ममता गाबय गीत’ पूर्णरुपमा मैथिली चलचित्र थियो। यसको रिलिज १९७० मा भएको मानिन्छ। 

यस चलचित्रमा गीता दत्त, सुमन कल्यानपुरी, महेन्द्र कपुरजस्ता गायकले गीत गाएका थिए। अर्र बकरी घांस खो, भईर नगरीमे शोर वोैआ, मामी तोहर गोर मामा, चान सनजस्ता सुमधुर गीतले ‘ममता गावैय गीत’ लाई सफल बनाएका थिए। यसपछि मैथिली चलचित्र बन्ने क्रम पूर्णरुपले रोकिएको थियो। 

धेरै वर्षपछि सन् २००२ मा बालकृष्ण झाले मैथिली चलचित्र निर्माण गर्ने साहस जुटाए। झाले ‘सस्ता जिनगी महंग सेनुर’ को लेखन र निर्देशनको जिम्मा कलाकार मुरलीधरलाई दिएका थिए। 

सस्ता जिनगी महंग सेनुरलाई मैथिली भाषाभाषीले बडो उल्लासपूर्वक हेरेका थिए। यो सफल मैथिली सिनेमामा दरिएको थियो। मैथिली भाषाको फिल्म पहिलो चोटि हेर्दा वा सिनेमाको पर्दामा कलाकारलाई मैथिली बोलेको र गाएको सुन्दा दर्शकहरु खुबै रोमाञ्चित भएका थिए। 

यसैक्रममा विभिन्न आरोहअवरोह पारगर्दै नेपालमा प्रजातन्त्रको आगमनपछि निजीस्तरबाट पहिलोपटक २०४९ सालमा जनकपुरबाट ‘दहेज’ नामक मैथिली चलचित्रको निर्माण भएको थियो।

मैथिली चलचित्रको वर्तमान 

त्यसपछि बिस्तार भएको मैथिली सिनेमा अहिले बिस्तार हुँदै जनकपुरबाहेक सिरहा, सप्तरी, सुनसरी,विराटनगरबाट पनि निर्माण हुने क्रम बढ्दै गएको छ। 

तर पनि मैथिलीभाषीको लागि राज्यपक्षबाट फिल्मको विकासमा खासै केही योजना बनाएको देखिदैन। 

मैथिली सिनेमा बनाएवापत सरकारलाई तिर्नुपर्ने सबै प्रकारको कर तिरे पनि सरकारबाट कुनै सुविधा नपाएको मैथिली फिल्म निर्देशक निराजन मेहताको गुनासो छ। 

केही समयअघि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष मैथिलीभाषी कलाकार धर्मेन्द्र मोरवैता थिए भने सदस्यमा गायक रामा मण्डल पनि थिए। तर पनि तराई मधेशमा निर्माणहुने चलचित्रका बारेमा कुनै छलफल भएन। र यो अवस्था अद्यापी छ।

मैथिली चलचित्र क्षेत्रको समस्यालाई सरोकारवाल निकायले गम्भीरतापूर्वक नलिएको गुनासो मैथिली कलाकारको छ। अहिलेसम्म मैथिली चलचित्रको विकास मैथिली कलाकारको आँट, संकल्प र प्रतिबद्धतामा टिकेको छ। 

मैथिली कलाकारको उत्साहबद्र्धक कार्य देखेर एकदमै खुशी लागेको वरिष्ठ मैथिली गीतकार विनित ठाकुर बताउँछन्। उनी भन्छन्, ‘‘नेपालमा मैथिली  कलाकारको यो पहिलो पुस्ता हो, जो दुई दशकदेखी मैथिली चलचित्रको जगेर्नमा आफ्नै बलवुताले लागिरहेका छन्। चाहे ठूलो बजेट होस् वा सानो बजेट तर चलचित्र मैथिली नैै हो नि। हामी सबै मिलेर ती कलाकारलाई होैसला दिनुपर्छ।’

हालसम्म दुई दर्जन बढी मैथिली चलचित्र निर्माण भइसकेका छन्। दहेज, ममता, करमभाग्य, प्रियतम, हमरालग रहब,अहां छी हमरा लेल,अपन समाज, पियाभेल परदेशी, माईके ममता, जहियासँ गेलोै विदेश, प्रीतक बाजी, संगे जियब संगे मरब, गरीबक बेटी, सुहागिन, मिथिलाक योद्धा, भोैजीके बहिन, कलयुगके शिवभक्त, जियब संगहम अहिकलेल, बीकल दुलहा मोैगीके गुलाम, इज्जत, मधेशी पुत्र, ओैकात, ईज्जतलगायत मैथिली सिनेमा सफल मानिन्छन् । 

त्यस्तै भीसीडीमा निस्केका मैथिली चलचित्रमा करम भाग्य, गरीबक बेटी, ममता,हमरा लग रहब, अहाँछी हमरा लेल, प्रितक बाजीलगायतका छन्। 

त्यसैगरी भारतबाट निर्माण भएका चलचित्रमा सस्ता जिनगी महग सेनुर, सेनुरक लाज, कखन हरब दुख मोर, आउ पिया अपन नगरी, दरुवा बाबु, सवनाके अंगनामे सोलह श्रृगांरलगायत छन्। यसका साथै बजेटको अभावमा करिब एक दर्जन चलचित्र रिलिज हुन बाँकी छ। त्यस्तै करिब एक दर्जन मैथिली चलचित्र तयार भएर डब्बामा बन्द रहेका छन्। केही त आधा मात्र बनेर रोकिएका पनि छन्। 

कतिपय बजेट अभावमा शुभमुर्हुत गरेर थन्किएका छन्। विगतमा निर्माण भएका मैथिली चलचित्र प्रचारप्रसारको अभावले व्यावसायिक रुप लिन सकेन। पछिल्लो समय मैथिली चलचित्रको गुणस्तरमा पनि सुधार हुँदैगएको छ भने प्रचारप्रसारमा पनि ध्यान दिन थालिएको छ।

मैथिली चलचित्रका वरिष्ठ कलाकार योगेन्द्र देवको भनाइअनुसार सरकारले मैथिली चलचित्र र यसका कलाकारलाई उपेक्षा गरेकोमा दुःख ब्यक्त गर्छन। सरकारले तराई मधेशमा निर्माण हुने मैथिली, भोजपुरी, थारु, अवधि भाषाको चलचित्रलाई नेपाली चलचित्रसरह नै कर लिने गरेको छ।

फिल्मसिटिको माग 

कतिपय मैथिली कलाकार सरकारले तराईमधेसमा फिल्मसिटी निर्माण गर्नुपर्ने बताइरहेका छन्। कलाकारको तर्क छ– तराईमधेसमा के छैन्? समुन्द्रको रुपमा कोशी नदी छ। ताजमहलको रुपमा जानकी मन्दिर छ। जंगल छ। त्यसैले सरकारले मिथिला नगरीमा छुट्टै फिल्मसिटी स्थापना गर्नुपर्छ। 

पाइदैन हल

पछिल्ला दिनमा मैथिली सिनेमा प्रशस्त बन्न थालेको सर्वबिदितै छ। तर दुःखको कुरा मैथिली सिनेमा चलाउन हल नै पाइदैन। सत्य के हो भने मैथिली सिनेमा तराईमधेशको मिथिला, भोजपुरा, अवध क्षेत्रमा राम्रैसँग चल्ने गर्छन। कतिपय सिनेमाले त राम्रै मुनाफासमेत आर्जन गरेका छन्।  तर स्थानीय कलाकारले बनाएका भाषाभाषीका चलचित्रले फिल्म हल समेत नपाउँदा मर्कामा छन्।  

हल नपाएपनि मैथिली चलचित्र निर्माणमा भने बाढी नै आएको छ। निर्माणाधिन अवस्थामा रहेका श्री शम्भुनाथ बाबा, बदला एकबेर फेर, दिलु रानी, संस्कार, मधेशी पुत्र ३, इज्जत, छिन्नमस्ता जय सखडेश्वरी माँ, ओैकात, दोदिल एक जानले यही संकेत गर्छ।

मधेशी पुत्र ३ मा त बलिउडका कलाकारलाई पनि खेलाइने भएको छ। मधेशी पुत्र २ को व्यापार नेपालबाहेक बिदेशमा पनि राम्रो भएकाले उत्साहित भएर यसको सिक्वेल निर्माण गर्न लागिएको हो। निर्माणाधिन मैथिली चलचित्र मिशन मधेश पनि राजनीतिक घटनालाई समेटिएको छ। 

अन्त्यमा

भर्खरै बामे सर्दै गरेको मैथिली सिनेमाले समाजको पिडा बोल्ने हिम्मत गरेको छैन। जबसम्म मिहिन गरि समाजको कथा बोल्न सकिदैन तबसम्म मैथिली सिनेमाको बिकासमा क्रमभंग हुन सक्दैन। देखासिकीबाट माथी उठ्नै पर्ने मैथिली सिनेमाको आजको टड्कारो आवश्यकता हो।

प्रकाशित मिति: : 2020-11-27 12:20:00

प्रतिकृया दिनुहोस्