शेयरबजारमा भारी वृद्धि, नेप्से सूचक १८ सयको सीमाभन्दा माथि

बिएल संवाददाता

काठमाडाै‌ं

सेयर बजारले १८ सय विन्दुको मनोवैज्ञानिक सीमा पार गरेको छ । 

यसअघि पनि नेप्सेले १८ सय अंक पार गरे पनि त्यो विन्दु टिक्न सकेको थिएन । बजार बन्द हुँदा मंगलबार नेप्से सूचक २९.६८ अंकले बढेर १८१०.११ विन्दुमा आइपुगेको छ । 

कुल १९६ कम्पनीको ५ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १७ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 

होटेलबाहेक बाँकी सबै समूहको सूचक बढेको छ । बिमा, उत्पादनमूलक र व्यापारिक समूहमा सबैभन्दा बढी तेजी आएको छ । बैंकिङ समूह पनि झिनो अंकले बढेको छ । सात कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ ।

कोरोना त्रासका बीचमा पनि बजार यस किसिमको आत्मविश्वास देखिनुलाई निकै सकारात्मक रुपमा हेरिएको छ । यस्तो बेला पनि बजारमा रौनकता आउनुको प्रमुख कारणमा यसअघि बजार करिब ४ वर्षसम्म वियरिस ट्रेन्डमा रहनु पनि हो । 

बजारले लामो समयसम्म तल्लो विन्दुमा अडियो । गत वर्ष नै बजारले सकारात्मक गति लिन सुरु गरेको भए पनि कोरोना लगायतले बजारको गति केही समय पर धकेलिदिएको थियो । यतिबेला लगानीकर्ता कोरोनासँग पनि खासै डराएका छैनन् ।

बजारलाई सपोर्ट गर्ने अर्को महत्वपूर्ण पक्ष सस्तो बैंक ब्याजदर हो । वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । ब्याजदर सस्तो भएकाले सर्वसाधारण लगानीकर्ताको क्रयशक्ति बढेको हो । बैंकहरुले ८% हाराहारीमा सेयर कर्जा उपलब्ध गराइरहेका छन् । 

यता, बैंकमा निक्षेप जम्मा गरेर ब्याज आम्दानी गर्नेहरु पनि यतिबेला सेयर बजारमै आकर्षित भइरहेका छन् । किन भने निक्षेप खातामा ब्याजदर अत्यन्त कम छ ।

सेयर बजारमा लगानी गर्दा अधिक लाभ लिन सक्ने भएपछि निक्षेपकर्ता यतातिर नै आकर्षित हुने गर्छन् ।  सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान, सरकार तथा नीति निर्माताको भूमिकाले पनि उत्तिकै काम गरिरहेको हुन्छ ।

बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बेस्सरी बढेको हो । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता छन् । यसको भाउ ३.२०% ले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसको आज बोनस पाउने अन्तिम दिन भएकाले पनि लगानीकर्ता झुम्मिएका हुन् । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको धेरै कारोबार भएको छ ।

प्रकाशित मिति: : 2020-11-24 15:33:00

प्रतिकृया दिनुहोस्