हिजो ‘इभिनिङ् वाक’ गएको थिए, सडकमा कति धेरै फोहर फालिएका रहेछन्, अचम्म परेँ!
त्यहाँ बियरको बिर्को फालिएको थियो। म एकछिन अलमलमा परेँ। सायद त्यो बियर कसैले सुखमा पिएको हुनुपर्छ? नभए पनि पक्कै दुःखमा होला। एकछिन सोचमग्न भएँ– बियर पिएर उसको दुःख हर्यो कि हरेन? सम्भवत उसको सुखको क्षण भने यसले अलि भए पनि लामो बनायो होला!
त्यही मैले एक टुक्रा कागज पनि फालेको देखेँ। सायद कुनै केटाले लेखेको प्रेम पत्र थियो होला? केटीले अस्वीकार गरेर रिसले कच्याक कुचुक्क पारेर फाले जस्तो।
त्यो कच्याक कुचुक्क परेको पत्र देखेर एकछिन घोत्लिन बाध्य बनायो– तिनीहरूको प्रेमको अन्त्य भयो वा भोलिपल्ट फेरि त्यही सडकमा भेटे?
त्यही परिवार नियोजनको साधन पनि फालिएको थियो। फेरि घोत्लिन बाध्य भए– यसले घरबार बनायो कि उजाड्यो?
त्यहाँ मास्क पनि फालिएको थियो। यो देखेर मन झसङ् भयो। कसैले अर्को मास्क फेर्नका लागि फोहोरमा फ्याँकेको हो कि, अब कहिल्यै आवश्यक नहुने भएर फ्याँकिएको हो? मन गह्रौं भएर आयो।
यही फोहोरको डुङ्ग्रोमा पाँच रुपैयाँको एउटा झुत्रो नोट पनि फ्याँकिएको थियो। अहिलेसम्म कसैले नटिपेको। पाँच रूपैयाँको नोट फोहोरमा देखेपछि मलाई लाग्यो–महंगी धेरै बढेछ। सायद पाँचको नोटको औचित्य सकिएर होला! हेलामा परेको त्यो दुःखी पाँचको नोट देखेपछि मलाई लाग्यो–सायद आफ्नो दुःख अरूमा सरोस् भनेर पन्छाइएको होला?
यही मैले तुना चुँडिएको एउटा चप्पल पनि देखेँ। सायद रिसको झोँकमा पिएर चुर भएको मान्छेले चप्पलमाथि रिस पोखेको हुनुपर्छ। चप्पलको तुना चुँडाउँदा आएको आवाजले उसलाई कति आनन्द आयो होला? मलाई यो सम्झिएर हाँसो पनि उठ्यो।
फोहोरकै बीचमा एक थुप्रो तरकारी केलाएर बाँकी रहेको फोहोर पनि फालिएको थियो। थुप्रो सानै थियो। कोरोना महामारीका बीच कसैले एक छाक मिठो भएपनि खान पाएकोमा म दंग भए।
यसैको नजिक एउटा प्लास्टिकको झोला पनि फ्याँकिएको थियो। सायद कसैले दिनभरि मिहिनेतले कमाएको पिठो त्यही झोलामा बोकेर ल्याएको थियो होला? उसका बच्चाले एक छाक भएपनि खान पाएर कति खुसी भए होलान!
त्यहाँ एउटा पटकाको खोल पनि फ्याँकिएको थियो। वास्तवमा त्यो पटका थिएन, बाबुले छोराको लागि किनिदिएको खुसी थियो। पट्का पड्काउँदा बाबुले पट्कातर्फ हेरेनन् होला, छोराको मुखमा देखिएको उज्यालो हेरेर उनी तृप्त भए होलान!
नजिकै स्यानेटरी प्याड पनि थियो। उनले आफ्नो स्वतन्त्रता बन्धकमा राखेर हेला, उपेक्षा, विरक्ति, उदासीन र लज्जा मिश्रित त्यो चार दिन कसरी बिताइन् होला?
चकलेटको खोल पनि जतात्यतै फ्याँकिएको थियो। सम्भवत ती बालकलाई आमाबुवाले दिएका थिए होलान्। नभएपनि हजुरआमाले सबैबाट लुकाएर खुसुक्क दिएको पैसाले किनेको हुनुपर्छ। नभए बच्चाले आमाबुवाको पैसा लुसुक्क झिकेर लुकाएर खाएको हुनुपर्छ।
यसैको नजिक चाउचाउको खोल पनि थियो। सायद अल्छी मानेर खाजाको सट्टा त्यो चाउचाउ खाएको हुनुपर्छ। नभएपनि युवतीलाई पिरो खाने रहरले किनेको हुनसक्छ।
यही फोहोरको बीचमा दाँत माझ्ने ब्रसको टुक्रा पनि फ्याँकिएको थियो। नेपालीले जति ‘रिसाइक्लिङ’ गर्न अरु कसैले जानेका हुदैनन्। ब्रसले दाँत माँझ्न छोडेपछि सीसीभित्रको भाग सफा गर्न तथा ट्वाइलेट सफा गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ।
विडम्बना हिजोआज नेपालीलाई विदेशीले ‘रिसाइक्लिङ’ गर्न सिकाइरहेका छन्। यही बीच सडकमा बालुवाको सानो थुप्रो देखेँ। लाग्यो– कसैले पवित्र नदीको बालुवा घुँसले बनाउने महलमा खन्याएर आडम्बर देखाउन वा कसैले दुःखले कमाएको पैसाले एउटा सानो बसेरा बनाउन खर्च गरेर गर्व गर्दैछ। कसैले पूर्खाले बनाएको घरको चुहिएको छानाको बल्लतल्ल मर्मत गर्न सकेर श्वास नै फेर्न लागेको हो कि?
अलि पर सानो मरेको कुकुर फालिएको थियो। कुहिसकेको त्यो कुकुरले आफ्नो मालिकलाई कति साथ दियो होला? तर, त्यसको बदला मालिकबाट एउटा सद्गत पनि पाएन। हैन मान्छे यति धेरै कृतघ्न त नहुने पर्ने हो? सायद गल्लीमा खानाको खोजीमा भौतारिएर हिँड्दा कुनै गाडीले किचिदिएको हुनुपर्छ? वा भोक र व्यर्थको ग्याङ फाइटमा उसले ज्यान गुमाएको हुनुपर्छ।
यी सबै कुरा हेर्दा मलाई लाग्यो– सडकमा फोहोर हैन कथा फालिएको रहेछ।
घिमिरे इन्जिनियर हुन्