नेपाल र बंगलादेशबीचको दोस्रो तथा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज (मंगलबार) हुँदैछ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ।
‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ।
शुक्रबार भएको पहिलो खेलमा पराजित नेपाल २-० ले पराजित भएकाे थियाे। सिरिजको उपाधि जित्न नेपालले आज कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ।
बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ।
नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो।
बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो। त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी खेलेकाे थियाे। तर २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो नेपालले।
झन्डै ८ महिनापछि मैदान फर्केका खेलाडीमा फिटनेसको समस्या देखिएको छ। खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरेका छन्।
आजकाे खेलमा रजिन धिमाल सुरुवाती-११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ। कोरोना पोजेटिभ देखिएपछि उनले अघिल्लो खेल गुमाएका थिए। धिमाल कोरोना मुक्त भइसकेकाे नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जानकारी दिए।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ।