अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भेन्टिलेटर हस्तान्तरण गरेको छ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेकाे हाे।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन्।
राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताए। अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने उनले बताए।
उनले ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताए।
यता स्वास्थ्यमन्त्री ढकालले कोरोनाविरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै वितरण सुरु गरिएको बताए। सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने उनले जानकारी दिए।
भेन्टिलेटरका अतिरिक्त यूएसएआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ। यूएसएआईडीले अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ।