शेयरबजारमा चमक, १२.४९ अंकको वृद्धि, कारोवार ३ अर्बभन्दा माथि

केही दिन सुस्त बनेको सेयर बजारमा आइतबार चमक फर्किएको हो । नेप्से दोहोरो अंकले बढेको बजारमा विशेषगरी खरिदबिक्री रकमले निकै उमंग भरेको छ । नेप्से सूचक १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा पुगेको छ ।

सेयर कारोबार रकम साढे ३ अर्बभन्दा माथि लागेको हो । औसत कारोबारलाई हेर्दा यो निकै उत्साहप्रद हो । खरिदबिक्री भएका अधिकांश समूहका सूचकमा हरियाली देखिएका छन् । 
 
बजारले उतारचढावका स्वभाविक नियमहरु पूरा गर्दै अघि बढेको हो । बजार क्रमशः बुलिस चक्रमा प्रवेश गरेको विश्लेषणहरु भइरहेका छन् । बीचबीचमा साना–ठूला करेक्सनहरु पनि देखिएका छन् तर समग्रमा बजारको गति माथितिरै देखिएको छ । झन्डै ४ वर्ष वियरिस प्रवृत्ति पूरा गरेपछि नेप्सेले अपट्रेन्ड समातेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजार विस्तारलाई महत्वपूर्ण रुपमा सहयोग पुर्याएको छ तर बजार लगातार बढ्छ भनेर बुझ्नु हुँदैन । 

१९८ कम्पनीको ३ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ८ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कुल १२ समूहको कारोबार भएकामा २ वटाबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् ।

सबैभन्दा धेरै उत्पादनमूलक समूह १२२.६८ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा भने १.१६ अंकले ह्रास आएको छ । आधा दर्जन कम्पनीमा भाउ बढेर सर्किट लागेको छ । यसरी वृद्धि हुनेमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, युनिभर्सल पावर तथा सानिमा जनरल इन्सुरेन्स रहेका छन् ।

सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ३.५७% का दरले गुमाएका छन् । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीले अग्रता लिएको छ । यसको २५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरी र तेस्रोमा शिखर इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति: : 2020-11-08 16:00:00

प्रतिकृया दिनुहोस्