प्रधानमन्त्रीज्यू, तपाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमित स्थानीय सरकारको निगरानीमा रहेको बताउँदै आएको छ । दिनमा कम्तिमा दुईपटक स्वास्थ्यकर्मीले फोनबाटै स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन् र आवश्यक परामर्श दिन्छन् तपाईं माताहातको स्वास्थ्य मन्त्रालय भनिरहेको छ । तर, प्रधानमन्त्रीज्यू, खोई तपाईंको स्थानीय सरकारले मलाई त फोन गरेन त ! किन प्रधानमन्त्रीज्यू, तपाईं जस्तै गफ लगाउने मात्रै हो तपाईंको स्वास्थ्य मन्त्रालय पनि । र, स्थानीय सरकार र जनप्रतिनिधि र कर्मचारीहरू पनि ।
जब, ममा कोरोना संक्रमण भएको रिपोर्ट आयो र सीटी भ्यालु (भाइरसको लोड) निकै न्यून थियो । मलाई निको हुन्छ कि हुँदैनभन्दा पनि अस्पताल भर्ना हुनुपर्यो भने कसरी धरौटी डिपोजिट गर्ने भन्ने तनावको पारोले शिखर नाघेको थियो ।
प्रधानमन्त्रीज्यू, तपाईंको सरकारले कोरोनाको दाऊ छोपेर व्यापार थालिसकेको छ । एकातिर शरीरलाई आरामको जरुरत थियो, अर्कोतिर महामारीमा व्यापार गरिरहेका अस्पतालमा डिपोजिट गर्नुपर्ने खबरले तनाव दिइरहेको थियो । प्रधानमन्त्रीज्यू, कारोनाको महामारीसँगै रोजगारी नगुमाएको म जत्तिको नागरिकको हविगत त यस्तो छ भने आमनागरिक जसले चैतदेखि नै कामकाज गुमाएर रित्तो हात जसोतसो ज्यान बचाइरहेका छन्, परिवार बचाइरहेका छन्, उनीहरूको अवस्था कस्तो होला ? उनीहरूलाई कोरोना संक्रमण भयो भने उनीहरू कोरोना आक्रमणले होइन त्यसपछि उपचारका लागि गर्नुपर्ने खर्चको जोहोबारे दिने मानसिक तनावले सास रोक्छ भन्ने तपाईंले सोच्नुभएको छ ?